आगलागीबाट करिब ५ करोड ६० लाखको धनमाल नष्ट

 
भक्तपुर । देशका ६ स्थानमा आगलागी हुँदा करिब ५ करोड ६० लाखरुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । ईलाम, काठमाडौं, दाङ, धनुषा, सिराहा र भक्तपुरमा भएका छुट्टाछुट्टै आगलागीमा सो क्षति भएको हो । 
इलाम नगरपालिका ४ स्थित जोशी हाईड्रोपावरको जेनेटरमा करेन्ट सर्ट भई आगलागी हुँदा करिब ५ करोड रुपैयाँ बराबरको जेनेटर जलेर नष्ट भएको छ । काठमाडौं, काठमाडौं महानगरपालिका ३१ शंखमुल बस्ने रामेछाप मन्थली नगरपालिका ३ घर भएका हिरा नारायण श्रेष्ठ र टेक नारायण श्रेष्ठको सोही ठाउँस्थित सान्दार मस्म पसलमा ग्याँस लिक भई आगलागी हुँदा पसलको फर्निचर र खाद्यान्न लगायत सामानहरु जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगलागीमा परेर पसलमा काम गर्ने रामेछाप घर भएका २८ वर्षीय रामकृष्ण बुढाथोकी गम्भीर घाइते भएकाले कीर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको छ । 
दाङ, बंगलाचुली गाउँपालिका ५ रोकीनी डाँडा बस्ने भिम बहादुर पुनको कच्ची घरमा आगलागी हुँदा छिमेकी लोक बहादुर पुनको घर र गोठमा समेत फैलिएर २ जनाको २ वटा घर र १ वटा गोठ जली करिब १९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । धनुषा, गणेशमान चारनाथ नगरपालिका ९ बरमझिया बस्ने राम दयाल यादवको कच्चि घरमा फोहरमैला डढाउन लगाएको आगोबाट आगलागी हुँदा बस्तीमा फैलिएर राम दयाल समेत ३ जनाको ३ वटा कच्ची घर जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
सिराहा, लहान नगरपालिका १३ शिव चोक बस्ने रामशरण महतोको कच्ची घरमा आगलागी हुँदा घर जलेर करिब २ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका ५ नगदेशस्थित तुलसी जुजुको घरमा करेन्ट सर्ट भई आगलागी हुँदा फर्निचर तथा विभिन्न सामान जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रियाहरु