डेँगु विरुद्ध सचेतना तीब्र पार्दै नेपाल रेडक्रस

 
 
सुनसरी । धरानमा एक महिना देखि देखा परेको डेँगुले धेरै सर्वसाधारणलाई प्रभावित पारेपछि नेपाल रेडक्रसले डेँगु विरुद्ध सचेतना तीब्र पारेको छ । रेडक्रसको स्थानीय विपद व्यवस्थापन समितिको सहयोगमा नेपाल रेडक्रसले चरणबद्ध रुपमा सरसफाई अभियान सञ्चालन गरेको बताइएको छ । धरानको ८ र १५ नंवर वडा डेँगु संकटग्रस्त क्षेत्र घोषणा भएपछि घरभेट गर्ने, ड्र«ममा जम्मा गरिएका सफा पानीलाई हटाउन सुझाव दिने र टोल आँगन सरसफाई गर्ने जस्ता काममा रेडक्रसका स्वयंसेवकहरु हरेक दिन विहान सक्रिय रहेका छन् ।
४० जना रेडक्रसकर्मी र स्थानीय बासिन्दा गरी १०० जनाले हातमा कुचो र हसिँया लिएर सरफाईमा जुटेको धरान स्थित रेडक्रसका अधिकृत शिवराम खड्काले बताउनु भयो । उहाँका अनुसार, १५ नं वडामा विहिबार, ८ नंवर वडामा शुक्रबार र १७ नंवर वडामा शनिवार विहान अभियानकै रुपमा घरदैलो कार्यक्रम सञ्चालन गरिएको थियो । नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति उमेश थापा, मन्त्री मुकुल कयस्थ, वार्ड अध्यक्ष लगायत  शिक्षक, बिध्यार्थीहरु, टोल बिकास संस्थाहरु अभियानमा जुटेको खड्काले बताउँनु भयो । 
यो प्रकोप धरानको अतिरिक्त इटहरी, विराटनगर र झापाका शहरी क्षेत्रमा पनि देखा परेको र ५०० वढी मानिसहरुमा फैलिएको जानकारी आएको नेरेसोका सञ्चार निर्देशक दिव्य राज पौडेलले बताउनुभयो । अहिलेको डेँगु एशियन टाइगर भनेर चिनिने छिर्केमिर्के, टाटेपांग्रे लामखुट्टेले फैलाएको बताइएको छ । उज्ज्यालोमा टोक्ने, सफा पानीमा फूल पार्ने भएकोले दिउसो पनि ख्याल गर्नुपर्ने र जम्मा गरिएको सफा पानीलाई हटाउने वा राम्रोसंग हावा नछिर्ने गरी व्यवस्थित भण्डार गर्नुपर्ने विज्ञहरुले सुझाएका छन् ।
झापा रेडक्रसका सभापति लोकराज ढकालका अनुसार, झापामा ८ वटा डेंगुका केश देखिइसकेका छन् । रगतको आपुर्ति गर्नुपर्ने भएमा रेडक्रसले आपत्कालीन भण्डार गरेको ढकालले बताउनुभयो । त्यस्तै विराटनगरमा पनि स्थानीय प्रशासन, स्थानीय सरकार र रेडक्रसलगायतका संस्थाहरुको संयुक्त वैठक गरी सचेतना कार्यक्रम अघि बढाउने सहमति भएकोे मोरङ रेडक्रसका सुवोध सिंले बताउनु भयो । उहाँका अनुसार, सचेतनाको लागि पर्चा टाँस्ने काम सुरु गरिसकिएको छ । यसैबीच प्रदेश सरकारका मन्त्रीहरुको उपस्थितिमा धरानमा वैठक वसेको  र नगरपालिका लगायत सरोकारवाला सवै संस्थाहरुले संयुक्त एक्सन प्लान (कार्ययोजना) बनाई कार्य गरिरहेको धरान रेडक्रसले जानकारी दिएको छ ।



प्रतिक्रियाहरु