एडिबीद्वारा ३९ अर्ब ३२ करोड सहायता

 
काठमाडौँ । एशियाली विकास बैंकले दुईवटा परियोजना कार्यान्वयन गर्न ३९ अर्ब ३२ करोड सहायता उपलब्ध गराउने भएको छ । बैंकले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक) अन्तर्गतको राजमार्ग सुधार परियोजनाका लागि १८ करोड ८० लाख अमेरिकी डलर र प्रकोप सहनशील विद्यालय निर्माण परियोजना कार्यान्वयन गर्न १४ करोड ८९ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको हो । 
बैंकले एक करोड ५० लाख अमेरिकी डलर अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । अनुदान रकम प्रकोप सहनशील विद्यालय निर्माण परियोजनामा खर्च हुनेछ । विकास सहायतासम्बन्धी समझदारीपत्रमा अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभ र अर्थसचिव राजन खनालले हस्ताक्षर गर्नुभयो । सासेक राजमार्ग सुधार परियोजनाअन्तर्गत पूर्व पश्चिम राजमार्गको पूर्वमा रहेको कमला कञ्चनपुर खण्डको करीब ८७ किलोमिटर सडक सुधार गरी फराकिलो बनाउने, सडक सुरक्षामा सुधार गर्ने र सडक क्षेत्रमा काम गर्ने निकायको क्षमता अभिवृद्धि गरिनेछ । 
सासेक परियोजनाबाट सडक सञ्जालको सुरक्षामा सुधार, राष्ट्रिय र क्षेत्रीय सडक सञ्जालमा सबलीकरण तथा यातायात प्रणालीको दक्षता अभिवृद्धि भई निर्यातमूलक नेपाली उद्योग अन्तर्राष्ट्रिय एवं क्षेत्रीय बजारमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि पुग्ने विश्वास गरिएको छ । त्यसैगरी प्रकोप सहनशील विद्यालय निर्माण परियोजनाअन्तर्गत भूकम्पबाट असुरक्षित बनेका विद्यालयलाई सुदृढ एवं सुरक्षित तुल्याइनेछ । त्यस अवसरमा देशीय निर्देशक खामुदखानोभले नेपालको आर्थिक विकासमा सासेक परियोजनाबाट मद्दत पुग्ने विश्वास व्यक्त गर्दै त्यसले राष्ट्रिय एवं क्षेत्रीय सम्पर्क विस्तारमा टेवा पुग्ने बताउनुभयो । 



प्रतिक्रियाहरु