इट्टां भट्टा हटाउनुस्, वैकल्पिक पेशा रोज्नुस् ः मेयर मिश्र

 
भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोम प्रसाद मिश्रले इटा भट्टा व्यवसायीलाई नगरपालिका क्षेत्रभित्रका इटा भट्टा हटाउन आग्रह गर्नुभएको छ । नगरपालिकाले आयोजना गरेको इटा भट्टा व्यवसायीहरुसँग इटा व्यवसाय सञ्चालन गर्दाका कार्यविधी, मापदण्ड र प्रदुषण नियन्त्रणको व्यवस्था बिषयक अन्र्तक्रिया कार्यक्रममा प्रमुख मिश्रले नगर क्षेत्रभित्र इटा भट्टा सञ्चालन गर्न नपाउने नियम पालना गर्न व्यवसायीहरुलाई आग्रह गर्दै अन्य वैकल्पिक पेशा सञ्चालन गर्न सुझाव दिनुभयो ।
मिश्रले भन्नुभयो, ‘इटा भट्टाका कारण भक्तपुर प्रदुषित बन्दै गएको छ, अब चाँगुनारायण नगरपालिका क्षेत्रभित्र इटा भट्टाहरु बन्द गर्ने नगरपालिकाको निर्णय भएकाले व्यवसायीहरुलाई अन्य वैकल्पिक पेशा सञ्चालनको तयारी गर्न आग्रह गर्दछु ।’ उहाँले ढिलो चाँडो नगरपालिकाले भट्टा बिस्थापन गर्ने भएकाले त्यसका लागि वैकल्पिक पेशा अंगिकार गर्न व्यवसायीलाई सुझाव दिनुभयो ।
प्रमुख मिश्रले अहिले सञ्चालनमा रहेका भट्टाहरुका कारण माटोको क्षयिकरण भई कृषि उत्पादनमा ह्रास आएको र आम मानिसको स्वास्थ्यमा प्रतिकुल असर गरेको भन्दै नगर क्षेत्रभित्र इटा भट्टा हटाउने अभियान नगरपालिकाले सञ्चालन गर्ने बताउनुभयो । उहाँले आगोले नपोलीकनै बिजुलीबाटै अत्याधुनिक रुपमा उत्पादन हुने इटा उद्योग सञ्चालन गर्न भने नगरपालिकाले प्रात्साहन गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख वीना बास्तोलाले भट्टाका कारण नगरको सुन्दरता नै कुरुप बनेकोले व्यवसायीहरुलाई अन्य वैकल्पिक पेशा सञ्चालन गर्नेतर्फ ध्यान केन्द्रित गर्न सुझाउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी तिमिल्सिनाले भट्टाहरु नगरपालिकाको नियमन क्षेत्रभित्र आइसकेको अवस्थामा प्रदुषणयुक्त भट्टाहरु सञ्चालन गर्ने छुट अव नगरपालिकाले दिन नसक्ने बताउनुभयो । वडा नं. ३ का वडा अध्यक्ष श्यामसुन्दर धिमालले भट्टाले नगरपालिकालाई तिरेको करभन्दा कैयौं गुणा प्रदुषण उत्पादन गरि नागरिकको स्वास्थ्यसँग खेलवाड गरेको बताउनुभयो । सो अवसरमा इसिइसिपीका इन्ष्ट्रक्टर अर्जुन भट्टले चाइनिज प्रविधि मार्फत प्रदुषण मुक्त अत्याधुनिक इटा उद्योग सञ्चालन गर्न सकिने भएकाले त्यस्तो प्रविधिको प्रयोगतर्फ केन्द्रित हुन व्यवसायीलाई सहजीकरण गर्नुभयो । कार्यक्रममा भक्तपुर इटा व्यवसायी संघका अध्यक्ष नातीभाई हेम्बा, व्यवसायी सुरेश खत्री, राजकुमार लामालगायतले व्यवसाय वन्द गर्ने मानसिकता भन्दा पनि इटा उद्योगको सुधार गरेर व्यवसाय व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।



प्रतिक्रियाहरु