मध्यपुरथिमिको सांस्कृतिक गुरुयोजना बन्दै

भक्तपुुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले सांस्कृतिक सम्पदाको खोज, अनुसन्धान र संरक्षणका लागि गुरुयोजना निर्माण गरिरहेको छ । नगरपालिकालाई सांस्कृतिक नगरी घोषणा गरिसकिएकाले पुरातात्विक, धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणका लागि गुरुयोजना निर्माण थालेको मेयर मदनसुन्दर श्रेष्ठले बताउनुभयो । 
 
गुरुयोजनामा नगर क्षेत्रभित्र रहेका भाषा, हस्तलिपि, भेषभुषा, गीत÷संगीत, बाजागाजा, नृत्य तथा झाँकी, रितिरिवाज तथा परम्परा, गरगहना लगायतको खाजी हुनेछ । साथै परम्परागत खानपान, पेशा, बस्ती र सम्पदा, धारा, इनार, पाटी, पौवा, चौतारा लगायत सांस्कृतिक सम्पदाको पहिचान गरी संरक्षणका योजना समेटिने मेयर श्रेष्ठले बताउनुभयो । ‘नगर क्षेत्रको सांस्कृतिक अवस्था के छ ? भन्ने तथ्य र तथ्यांक संकलन गर्छौं, त्यसपछि तिनको संरक्षणका काम सुरु हुन्छन्,’ उहाँले भन्नुभयो । 
 
गत चैत्र ३ गते प्रदेश तीनका प्रमुख अनुराधा कोइरालाले ‘सांस्कृतिक नगरी मध्यपुरथिमि’ घोषणा गरेकी थिइन् । प्रदेश सरकारको सहयोगमा नगरपालिकाले गुरुयोजना निर्माणको काम थालेको हो । बुधबार भएको गुरुयोजना निर्माण सम्बन्धी गोष्ठीमा सांसद महेश बस्नेतले भक्तपुर सांस्कृतिक सम्पदामा धनी भएको बताउनुभयो । उहाँले नगरपालिकाले संस्कृति संरक्षणमा लिएको कदमको प्रशंसा समेत गरेका थिए । 
कार्यक्रममा प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठ, उपप्रमुख अन्जनादेवी मधिकर्मी, पुर्वमेयर मदनकृष्ण श्रेष्ठ, संस्कृतिकर्मी कृष्णमोहन जोशी लगायतले गुरुयोजना निर्माण गरी कार्यान्वयनमा समेत जोड दिनुभयो । नगरपालिकाले सांस्कृतिक नगरीको गुरुयोजना निर्माणका लागि बनाएको तर्जुमा समितिका सदस्य नवीन प्रकाश श्रेष्ठले ३ वर्षे, ५ वर्षे र १० वर्षे योजनाहरु गुरुयोजनामा समावेश गर्न लागिएको बताउनुभया ।   
 



प्रतिक्रियाहरु