बिचौलिया हावी भएपछि कृषिकर्ममा लागे–श्याम बस्नेत

 
 
मध्यपुर थिमि नगरपालिकाको चारदोवाटोमा भक्तपुर जिल्लाकै व्यवस्थित र ठुलो तरकारी वजार सञ्चालन हुदैछ । सात रोपनी जग्गामा निर्माण भईरहेको आधुनिक तरकारी वजार दुई महिनापछि सञ्चालनमा आउँने छ । राजनीतिदेखि शैक्षिक क्षेत्र, सहकारी सञ्चालन, पत्रिका प्रकाशन, खेलकुदमा सक्रीय रहंदै आउँनु भएका श्याम बस्नेतले यसक्षेत्रकै सबै भन्दा व्यवस्थित तरकारी वजार सञ्चालनमा ल्याउँन लाग्नु भएको हो । तरकारी फलफुलमा किसानलाई बिचौलीयाले धेरै ठगी गरेको महसुस गरेर तरकारी वजारमा हात हालेको बताउँने बस्नेतसंग तरकारी वजारका वारेमा डोलेश्वर दैनिकका पेशल आचार्य र पुष्कर बुढाथोकीले बस्नेतसंग गरेको कुराकानीको सार संक्षेप ः 
हिजोआज केमा व्यवस्त हुनुहुन्छ ? 
म पछिल्ला तीन÷चार महिनायता भक्तपुरमा व्यवस्थित तरकारी वजार सञ्चालन गर्नुपर्छ भन्ने अभियानम लागिराखेको छु । 
तपाई त राजनीति गर्ने मान्छे होईन र ? कसरी कृषि पेशातर्फ लाग्दै हुनुहुन्छ ? 
धेरैकुरा तपाईहरुलाई पनि थाहा हुनु पर्छ म राजनीतिसंगै शिक्षा, सञ्चार, खेलकुद, सहकारीदेखि घरजग्गा कारोवारसम्म मेरो संलग्नता छ । तत्कालिन नेकपा एमाले भक्तपुरको प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दैगर्दा मैले गठ्ठाघरस्थित सिभिएम स्कूलको अध्यक्षको जिम्मेवारीसमे निर्वाह गरिराखेको छु । गठ्ठाघरमै मेरै अध्यक्षतामा हाम्रो प्रयास बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा छ । जिल्ला खलकुद विकास समितिको उपाध्यक्षका रुपमा मैले खेलकुदका काम समेत अघि बढाएको छु । 
राजनीतिक, खेलकुद  र आर्थिक क्षेत्रमा संलग्न तपाई कृषिकर्मतपर्फ चांहि कसरी जोडिनु भयो नी ? 
यसमा मेरो अलिक फरक अनुभूति छ । म किसान परिवारकै सदस्य हुं । २०३९ सालमा म बालकोटको किसान परिवारमा जन्मेको हुं । अहिले पनि मेरो आमा कृषि कर्मनै गर्नुहुन्छ । कुरा एक वर्षजति अगाडिको हो । आमाले बारीमा उत्पादन गरेको साग एकजना व्यापारीले बारीमै आएर मुठाको १० रुपियाका दरले किनेर लग्यो । गठ्ठाघरचौकम त्यहि साग ३० रुपियाँ मुठामा बिक्री गरेको देखेपछि ममा तरकारी वजार सञ्चालन गर्ने सोच पलाएको हो । 
त्यो सोच पलाउँने मुख्य कारण चाहि के नी ? 
किसानले महिनौसम्म दुख गरेर फलाएको एक मुठा साग १० रुपियाँमा किनेर एक किलोमिटर भित्रैको गठ्ठाघरस्थित वजारमा ३० रुपियाँमा बिक्री गरेको पाएपछि किसानलाई बिचौलियाले गर्ने  ध्यान तरकारी वजार निर्माणतर्फ गएको हो । रातो दिन दुःख गरेर दश नङ्ग्रा ख्याउँने किसानले भन्दा बीचमा कामगर्ने मध्यस्तकर्ताले तीन गुणा बढी मुनाफा खाने प्रवृतिको अन्त्यका लागि आफुले तरकारी वजार सञ्चालन गर्न लागेको बस्नेतको भनाई छ । 
कस्तो हुन्छ तरकारी वजार के के हुन्छन् सुविधा ? 
काठमाडौंको कालिमाटी पछि सबै भन्दा व्यवस्थित र सुविधा सम्पन्न वजार बनाउँने उदेश्यले हामीले काम अघि बढाएका छौ । चार सय पशल रहने वजार करिव छ करोड ५० लाखको लागतमा निर्माण भइरहेको हो । वजारभित्र आठ वटा व्यवस्थित शौचालय निर्माण गरिने छ । १६ स्थानमा सिसी क्यामेरा जडान गरेर सुरक्षा लगायतको अनुगमन गरिने छ । 
तरकार वजार अधिक फोहोर भएको गुनासो आउँने गर्छन् नी ? 
तपाई ढुक्क हुनुहोस । त्यस्तो गुनासो हाम्रो वजारमा आउँने छैन । हामीले दैनिक तीन पटक सरसफाई गर्ने व्यवस्था मिलाउँने छौ । सरसफाईकै लागि हामीले प्रयाप्त मात्रामा पानीको समेत प्रबन्ध मिलाउँदैछौ । 
थोक बिक्रेताले कम मुल्यमा  किसानबाट सामान खरिद्ने परिपाटीको अन्त्य कसरी सम्भव छ त ? 
त्यो सम्भव छ । हामी गरेर देखाउँछौ । हाम्रो मुख्य उदेश्य भनेकै किसानका उत्पादनको उचित मुल्य दिने हो । हाम्रो पसल सञ्चालनमा आएपछि किसानले उतपादन गरेका उत्पादन वजार वजार पु¥याउँनु पर्ने अवस्थाको अन्त्य हुनेछ । हामी एक दर्जन गाडीमार्फत जिल्लाका चारै वटा नगरका सबै वडामा संकलन केन्द्र राखेर स्थानीय उत्पादन उचित मूल्यमा खरिद गरिने छ । जसकारण किसानले आफ्ना उत्पादन बिक्री गर्न काठमाडौंका नयाँवानेश्वर र कालिमाटीसम्म धाउँनु पर्ने बाध्यताको अन्त्य त्यसबाट गर्ने हाम्रो प्रमुख लक्ष्य हो । 
तरकारी धेरै उत्पादन हुने यस क्षेत्रका उत्पादन कसरी खपत गर्नुहुन्छ त ? 
खरिदमा नयाँ पनसंगै हामीले बिक्री पनि नयाँ तरिकाबाट गर्दैछौ । हामीले संकलन गरेका तरकारी फलफुल हाम्रा गाडीमार्फत तरकारी फलफुल वजारमा आउँने छन् । वजारबाट खुद्राका अलवा थोक समेत कारोवार हुनेछ । कतिपय त्यस्ता सामाग्री सोझै ठुला होटल, रेष्टुरेन्टदेखि पार्टी प्यालेसमा कन्ट्रयाक्ट गरेर सुपथ मुल्यमा ती संस्थामा नै पु¥याई दिने व्यवस्था हामीले मिलाउँनेछौ । 
त्यसको स्थायीत्व कसरी सुनिश्चित गर्नुहुन्छ नी ? 
हामीले सात रोपनी जग्गा १५ वर्षका लागि लिजमा लिएर तरकारी फलफुल वजार निर्माण थालेका हौ । अरनिको लोकमार्गदेखि तीन सय मिटर भित्रैको एरियामा पर्ने भएकाले वजार पुग्न जोकोहिलाई सहज हुन्छ । वजार छिर्ने सडक २० फिटको व्यवस्था गरिएको छ । पछिल्लो समय भक्तपुरको पश्चिमी क्षेत्रमा तिब्र रुपमा शहरीकरण भइरहेको छ । काठमाडौंबाट समेत सहज रुपमा उपभोक्ता आउँन सक्ने वातावरण हामी निर्माण गर्नेछौ । स्थायित्वमा त कुनै प्रश्नै उठ्दैन । 
कतिले रोजगारी पाउँछन्, तरकारी वजारमार्फत ? 
तरकारी वजारका आफ्नै आठ–दश वटा सवारी साधन हुन्छन् । तीनमा दुई जनामात्र राख्दा पनि २० जनाले रोजगारी पाउँछन् । वजारभित्रै सहकारी, विमा लगायतको सुविधा हुन्छ । वजारका लागि आवश्यक पर्ने सम्पूर्ण सामान सोहि स्थानमा उपलव्ध गराउँने हाम्रो नीति रहेको छ । ती सबैबाट प्रत्यक्ष रुपमा एक सय भन्दा बढीले पुर्ण रोजगारी प्राप्त गर्नेछन् भने बाँकी आंशिक रुपमा पाँच सय बढीले रोजगारी पाउँने छन् । त्यति मात्र होईन, चार सय पसलमा कम्तिमा दुई जनाको दरले रोजगारी पाए भने पनि  थप आठ सय जनाले रोजगारी पाउँने अवस्था हुन्छ । 
व्यापारी र किसानलाई त धेरै फाईदा हुने कुरा बताउँनु भयो । उपभोक्ताले चाहि के कस्तो सुविधा पाउँछन् नी ? 
जिल्लाका १८ स्थानमा संकलन केन्द्र खडा गरेर तरकारी फलफुल वजार आफैले तत्काल उपभोक्ता सामु ल्याउँदा ताजा स्वथ्यकर पाउँने मात्र होईन । बीचमा अरुले कमिसन बच्ने भएकाले उपभोक्ताले अन्यत्र भन्दा धेरै हदसम्म सर्वसुलभ मुल्यमा सामान पाउँने छन् । त्यसका अलवा तरकारी र फलफुल किन्न लाग्ने समयको बचत हुने निश्चित छ । उपभोक्ताका लागि प्रर्याप्त पार्किङको व्यवस्था भएकाले पनि सहज हुनेछ । 
स्थानीय स्तरमा उत्पादन नहुने तरकारी फलफुलको व्यवस्थापन कसरी हुनेछ ? 
यहाँ उत्पादन नहुने सामाग्री हामीले अन्यत्रबाट ल्याउँने व्यवस्था गरेका छौ । तपाई ढुक्क हुनुहोस् अन्यत्रको तुलनामा सर्वसुलभ मुल्यमा हाम्रोमा तरकारी फलफुल लगायतका सामाग्री उपलव्ध हुनेछ । 
व्यापारीलाई मासिक कतिदेखि कतिमा भाडा दिने सोच बनाउँनु भएको छ ? 
हामीले एउटा सटरको स्थान हेरेर आठ देखि १२ हजार सम्ममा भाडामा दिने सोच बनाएका छौ ।  
अन्त्यमा केहि भन्नु छ की ? 
आफु विद्यार्थी कालमा राजनीति गरेका कारण बिभिन्न स्थानबाट कलेज आउँने विद्यार्थीलाई आंशिक काम लगाएर पनि पढाईमा केहि हदसम्म सहयोग गर्ने व्यवस्था मैले मिलाएको छु । हामीले किसानदेखि उपभोक्तासम्मलाई फाईदा पुग्ने उदेश्यले तरकारी फलफुल वजार स्थापना गरेका हौ । सबैले सकारात्मक रुपमा लिएर हामीलाई सबै पक्षबाट हौसला मिल्ने अपेक्षा गरेका छौ । 
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु