उपत्यका नगरपालिका फोरमले कोरोना विरुद्ध महाअभियान संचालन गर्दै


भक्तपुर । नेपालमा कोरोनाको प्रभाव न्युनिकरण गर्न उपत्यका नगरपालिका फोरमले ‘कोरोना विरुद्धको महाअभियान’ संचालन गर्ने भएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न फोरमले प्रभावकारी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । फोरमको भक्तपुरमा सम्पन्न आकस्मिक बैठकले त्यस्तो निर्णय गरेको फारेमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन शुन्दर श्रेष्ठले बताउँनु भयो ।
वैठकले कोरोना बिरुद्धको महाअभियान संचालन गर्ने लगायतका १० बुँदे साझा अबधारणा सार्वजनिक गरेको छ । उपत्यकाका दुई महानगर र १६ नगरपालिका सम्मेलित फोरमले कोरोना भाइरस बिरुद्ध उपत्यकाका सबै नगरपालिकाले एक जुट भएर अघि बढ्ने निर्णय गरेको सचिव श्रेष्ठले बताउनुभयो । फोरमले सबै नगरपालिकाका नागरिकसम्म पुग्नेगरि कोरोनाबाट बच्ने उपाय सहितका सकारात्मक सन्देशहरु प्रवाह गर्ने निर्णय समेत गरेको छ ।


श्रेष्ठका अनुसार, फोरमले कोरोना संक्रमणको आशंका गरिएका विरामीलाई क्वारेन्टाइनको व्यवस्था नगरपालिकाहरुले गर्ने निर्णय गरिएको छ । त्यसका लागि आ–आफ्नो नगरपालिका क्षेत्र भित्र रहेका स्कूल, कलेज, होटल तथा गेष्ट हाउस, सामुदायिक भवनहरु लगायतलाई अस्थायी क्वारेन्टाइनका रुपमा प्रयोग गरिने श्रेष्ठले जानकारी दिनुभयो । फोरमको बैठकले क्वारेन्टाइनमा रहने स्वास्थ्यकर्मी पूर्ण सुरक्षित रहनेगरि कार्य अघि बढाउँने, संक्रमति भेटिए उपचारका लागि सरकारले तोकेको उपचार केन्द्रमा पठाउने र आवश्यक परेमा थप उपचार केन्द्र बनाउन संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।
त्यसैगरी वैठकले कोरोना संक्रमित मात्रै रहने गरि छुट्टै उपचार केन्द्रको व्यवस्थापन गरी तोकिएका स्वास्थ्यकर्मीलाई  मात्रै परिचालन गर्नुपर्ने र उनीहरुको सुरक्षाको पूर्ण प्रत्याभूति गर्नुपर्ने सुझाएको छ । त्यस्तै सबै नगरपालिकाले भीडभाड हुने स्थानमा पानी ट्याङ्की र साबुन राखेर हात धुने व्यवस्था गर्ने भएका छन् । त्यसैगरि उपत्यकाका सबै नगरपालिकाले बजार अनुगमनलाई प्रभावकारी बनाएर सर्वसाधारणलाई राहत दिने निर्णय गरेको सचिव श्रेष्ठले बताउँनु भयो । वैठकले संवेदनशिल समयमा स्थानीय तह बन्द नगर्ने निर्णयगर्दै अत्यावश्यक बाहेकका सेवा भने राक्ने जनाएको छ ।


वैठकले उपत्यकाका सबै पालिकाका जनप्रतिनिधी सेल्फ क्वारेन्टाइनमा बस्ने, नगरवासीलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन दिने, जनप्रतिनिधीले अत्यावश्यक बाहेकका भेटघाट बन्द गर्ने निर्णय गरेको फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउँनुभयो । बैठकको अध्यक्षता फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गर्नु भएको थियो ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु