नगरकोटका होटललाई पाँच सय वेडको क्वारेन्टाइन स्थल बनाउने गृहकार्य


भक्तपुर । उपत्यकाको सबै भन्दा नजिकको पर्यटकीय केन्द्र नगरकोटका होटललाई क्वारेन्टाइन स्थल बनाउने गृहकार्य शुरु भएको छ । त्यसको तयारी स्वरुप पर्यटनमन्त्री योगेश भट्टराई बुधवार बिहान नगरकोट पुग्नु भयो । पर्यटनमन्त्री योगेश भट्टराई सहितको टोलीले स्थानीय होटललाई क्वारेन्टाइन स्थल बनाउने सम्बन्धमा नगरकोटका होटल व्यवसायीसँग छलफल गरेको थियो ।
क्वारेन्टाइन स्थल बनाउने सम्बन्धि तयारीका लागि भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा सुरक्षा अङ्गका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख, नगरकोटका पर्यटन व्यवसायी सदस्य रहेको समिति बनाईएको छ । समितिले अध्ययन गरेर होटलका कोठा छान्ने बताइएको छ । समितिलाई क्वारेन्टाइनस्थल बनाउन लाग्ने स्रोत साधनबारे समेत जानकारी गराउन भनिएको छ ।
कोभिड–१९ (कोरोना भाइरस) को संक्रमित फेला पर्दैजाँदा उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्ने भएकाले नगरकोटलाई तयारी अबस्थामा राखिएको हो । नगरकोटमा करिव पाँच दर्जन होटल चालु हालतमा रहे पनि कोरोना संक्रमणका कारण  खालीजस्तै भएका छन् । नगरकोटमा सञ्चालन रहेका होटलहरू मध्येबाट पाँच सय कोठा क्वारेन्टाइन बनाउन निर्देशन दिइएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो ।


नगरकोटमा सञ्चालनमा रहेका होटलहरूमा दुई हजार कोठा रहेका छन् । त्यसमध्ये पाँच सयलाई तत्काल क्वारेन्टाइन बनाउन निर्देशन दिइएको छ । मन्त्री भट्टराईसँग छलफलपछि  क्वारेन्टाइन व्यवस्थाको लागि तयारी गर्ने चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले बताउनुभयो । तत्काललाई पाँच सय कोठालाई क्वारेन्टाइन बनाउने भनिएपनि पछि आवश्यकताका आधारमा थप्दै जाने सरकारको तयारी रहेका मिश्रले बताउँनु भयो ।
 कोरोना भाइरसको संक्रमण कुनै वस्तीमा देखियो भने संक्रमण नदेखिएका मानिसलाई क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले पनि नगरकोट उपयुक्त हुनसक्ने सरकारको बुझाइ छ । छलफलमा व्यवसायीले पनि क्वारेन्टाइनस्थल बनाउन आवश्यक परे सहयोग गर्ने  तर आन्तरिक छलफल पछि मात्र निर्णय दिने नगरकोट नाल्दुम पर्यटन बिकास समितिका उपाध्यक्ष धनबहादुर लामाले बताउनुभयो । सरकारले क्वारेन्टाइनस्थल तयार पार्न मन्त्री भट्टराईको नेतृत्वमा समिति बनाएको छ । यो समितिले काठमाडौंमा ५ हजार मानिसलाई राख्न सक्ने गरी क्वारेन्टाइनस्थल बनाउने तयारी गरेको छ । यसका लागि सुरुमा होटल तथा सरकारी भवन उपयोग गरिनेछ ।
मन्त्री भट्टराई नेतृत्वको टोलीले बुधवारनै दुवाकोटस्थित केएमसी हस्पिटलको पनि अनुगमन गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको मेडिकल कलेजमा ३२ वटा आइसोलेसन तयार पारिएको छ । त्यहाँ दुई सय वटा आइसोलेसन वेड बनाउन सकिने  तर पर्सनल प्रोटेक्टिभ इक्वीपमेट (पीपीई) लगायतका सुरक्षा उपकरणहरु चाहिने अस्पतालले बताएको छ । मन्त्री भट्टराईले मेडिकल कलेज पुगेर आइसोलेसन र क्वारेन्टाइन बढाउन चाँगु नारायण नगरपालिकाका मेयर  मिश्र र भक्तपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेलाई निर्देशन दिनुभएको थियो ।




 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु