भक्तपुरका पत्रकारलाई पीपीई सहित स्वास्थ्य सुरक्षा सामाग्री


भक्तपुर । भक्तपुरका चार दर्जन पत्रकारलाई पीपीई सहित स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको छ । कोरोना भाइरसको त्रासमा पनि अग्रभागमा रहेर काम गर्ने भक्तपुरका पत्रकारलाई भक्तपुर इँटा व्यवसायी संघ र भक्तपुर ट्रक व्यवसायी प्रा.ली.ले संयुक्त रुपमा अत्यावश्यक सुरक्षाका सामाग्रीहरु वितरण गरेको हो ।
संघको कार्यालयमा आयोजित कार्यक्रममा भक्तपुरका ४७ जना पत्रकारलाई करिब एक लाख ५० हजार रुपियाँ बराबरको एक थान पिपिई (सुरक्षा कवच), दुई थान एन नाईन्टी फाइभ मास्क र एक थान स्यानेटाइजर वितरण गरिएको थियो । कार्यक्रममा भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष नातीभाई ह्योम्बाले कोरोना संक्रमणको जोखिममा अग्रभागमा रहेर काम गर्ने संचारकर्मीलाई सुरक्षित गर्नुपर्ने दायित्व सम्झेर सुरक्षाका सामाग्रीहरु प्रदान गरिएको बताउनुभयो ।

 
कार्यक्रममा भक्तपुर ट्रक व्यवसायी प्रा.ली.का अध्यक्ष लक्ष्मीप्रसाद गोराले लकडाउनका कारण ट्रक व्यवसायीले ऋणको किस्ता तिर्न नसकेको बताउदै सरकारले ब्याज मिनाहा गर्ने व्यबस्था गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष विश्वराम कवांले पत्रकार पनि देशको एक सिपाही भएको बताउदै कोरोनाबाट पत्रकारलाई जोगाउन सके देश जोगिने बताउनुभयो । उहाँले सरकारले आगामी बजेटमा इँटा तथा अन्य व्यवबसायीका लागि विशेष राहतको घोषणा गर्नुपर्ने बताउदै व्यवसाय जोगाउन सके मात्रै देशको अर्थतन्त्र जोगिने बताउनुभयो ।    
कार्यक्रममा संघका सल्लाहकार एवं प्रा.लीका पूर्वअध्यक्ष नविन प्रजापतिले यसअघि भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र महानगरीय प्रहरी परिषर भक्तपुरलाई पिपिई वितरण गरिसकेको बताउनुभयो।कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकीले कोरोनाको जोखिममा कतिपय क्रियासिल पत्रकारहरु कार्यक्षेत्र मै खटिएर काम गर्नु परेको बताउनुभयो । उहाँले कार्यक्षेत्रमै खटिने पत्रकारहरुलाई निकै जोखिम छ भन्दै  यस्तो अवस्थामा पत्रकारलाई सुरक्षा सामाग्री, स्वास्थ्य बिमाको व्यबस्था र संचारमाध्यम र पत्रकारलाई राहतको माग गर्नुभयो ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु