रेडक्रस केन्द्रीय कार्यालयमा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना


काठमाडौ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा आएको छ । मलेसियन रेडक्रिसेन्ट सोसाइटीको आर्थिक सहयोगमा निर्मित आपत्कालीन कार्य सञ्चालन केन्द्रको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापा र मलेसियन रेडक्रिसेन्ट सोसाइटीका महामन्त्री दातो सइद ए रहमान बि सइद मोहम्मदले मंगलवार संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
नेपालमा आइपर्ने जुनसुकै आपत्कालीन परिस्थिति  केन्द्रीय  स्तरदेखि स्थानीय स्तरसम्म विपद् प्रतिकार्य, उद्धार, राहत र पुनर्लाभ जस्ता कार्यहरू सहजै सरल र समन्वयात्मक तवरले सम्पन्न गर्नका लागि सो कार्य सञ्चालन केन्द्र निर्माण गरिएको हो । उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले मलेसियन रेडक्रिसेन्ट सोसाइटी र नेपाल रेडक्रस सोसाइटी बीचको सम्बन्ध प्रगाढ गर्न आपत्कालीन कार्य सञ्चालन केन्द्र सधैभरी सम्झनाको रूपमा रहिरहने बताउनु भयो ।
नेपालमा जुनसुकै बेला आइपर्ने आपत्कालीन अवस्थाको सामना गर्नको लागि एक साझा स्थल निर्माण भएको अध्यक्ष थापाको भनाई थियो । यसैगरी मलेसियन रेडक्रिसेन्ट सोसाइटीका महामन्त्री दातो सइद ए रहमान बि सइद मोहम्मदले नेपाल रेडक्रस सोसाइटी र मलेसियन रेडक्रिसेन्ट सोसाइटी बीच विगत चार दशकभन्दा लामो समयदेखि साझेदारी रहँदै आएको बताउनु भयो । महामन्त्री मोहम्मदले  आगामी दिनहरूमा समेत नेपाल रेडक्रस सोसाइटीलाई  सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले नेपाल रेडक्रस सोसाइटीले विपद्का बेला मात्र नभई सधैभरी विपद् पूर्वतयारीका लागि समुदायलाई सहयोग पु¥याउने योजना तय गर्न यस केन्द्रले स्रोत केन्द्रको रूपमा काम गर्ने बताउनु भयो । उहाँले नेपालमा विविध खालका विपद् आइपर्ने भएकाले आपत्कालीन कार्य सञ्चालन केन्द्रको निर्माण संँगसँगै सेवा पनि प्रारम्भ भएको बताउनु भयो । यसैगरी रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (फेडेरेशन) का नेपाल प्रमुख जुजा किमले नेपालमा सधैभरी कुनै न कुनै किसिमको प्राकृतिक विपद् परिरहने भएकाले यस कार्य सञ्चालन केन्द्रले विपद् व्यवस्थापनमा ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको आपत्कालीन कार्य सञ्चालन केन्द्र, यसका उद्देश्यहरू र यसबाट सञ्चालन गरिने गतिविधिहरूका बारेमा नेरेसो विपद् व्यवस्थापन विभागका निर्देशक मोना अर्यालले प्रस्तुति  गर्नुभएको थियो । निर्देशक अर्यालले नेपाल सरकारको आपत्कालीन कार्य सञ्चालन केन्द्र र नेरेसोको आपत्कालीन कार्य सञ्चालन केन्द्र बीचको समन्वय र सहकार्यका बारेमा समेत प्रस्तुति गर्नुभयो । नेरेसोको आर्थिक स्रोत व्यवस्थापन विभागका कायम मुकायम निर्देशक धर्मदत्त विडारीले केन्द्र निर्माण गर्नका लागि एक करोड अठ्चालीस लाख चौवालीस हजार पाँच सय चौरासी रूपैंया सहयोग प्राप्त भएको जानकारी दिनुभयो ।
नेरेसो विपद् व्यवस्थापन विभागका उपनिर्देशक रूद्रनारायण अधिकारीले आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट राष्ट्रिय स्तरमा तथ्याङ्क ं संकलन र प्रशोधन गरी सञ्चार गरिने बताउनु भयो । यसका साथै  जुनियर इन्जिनियर मनिष तिम्सिनाले भावी योजना र कार्य सञ्चालन केन्द्रको स्तरोन्नतिका लागि प्रस्ताव प्रस्तुत गर्नुभयो ।    
कार्यक्रममा मलेसियन रेडक्रिसेन्ट सोसाइटीको प्रतिनिधि मण्डलमा राष्ट्रिय कोषाध्यक्ष हकिम बि हाम्जा र प्राविधिक विशेषज्ञ जइनाल नरेन्द्रन बि अब्दुल्लाह समेतको उपस्थिति थियो । यसैगरी नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री हरिप्रसाद न्यौपाने र कर्मचारीहरूलगायत साभेदारी राष्ट्रिय सोसाइटीका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
 



प्रतिक्रियाहरु