“पत्रकारितालाई व्यवसायिक, मर्यादित बनाउन अझै सुधार आवश्यक” क्रियाशिल पत्रकारिता सम्मान राससका रत्नकृष्ण श्रेष्ठलाई


भक्तपुर । निर्वाचित जनप्रतिनिधिहरुले पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाउन थप सुधारको खाँचो रहेको औल्याएका छन् । भक्तपुरबाट प्रकाशित हुने समय समाज राष्ट्रिय साप्ताहिक पत्रिकाको १५औं बर्ष प्रवेश कार्यक्रममा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सांसदहरु, जिल्ला समन्वय समिति र स्थानीय तहका जनप्रतिनिधिहरुले पत्रकारितालाई व्यवसायिक, मर्यादित र उत्तरदायि बनाउन अझै सुधार गर्नुपर्ने आवयक्ता औल्याएका हुन् ।
बार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य एवम् पूर्व उद्योगमन्त्री महेश बस्नेतले पछिल्लो समयमा पत्रकारिता क्षेत्र सशक्त र प्रभावकारी बन्दै आएपनि पत्रकारिता पेशाबाटै पत्रकारहरुको सहज जीवनयापन गर्ने अवस्था बन्न नसकेको उल्लेखगर्दै पत्रकारितामा अझै पनि सुधार आवश्यक रहेको बताउनुभयो । पत्रकार समाज र राष्ट्रप्रति उत्तरदायी र जिम्मेवार रहदै व्यवसायिक बन्नुपर्नेमा जोडदिदै बस्नेतले यसका लागि प्रकाशन गृह र सरकारले पत्रकारहरुलाई व्यवसायिक बनाउने कार्य योजना ल्याउनुपर्ने बताउनुभयो ।


कार्यक्रममा बागमती प्रदेशका सांसद राजेन्द्रमान श्रेष्ठ र शशिजंग थापाले पत्रकारिता पेशाप्रतिको आकर्षण बढ्दै गइरहेको तर, प्रकाशन गृह र पत्रकारहरु व्यवसायिक बन्न नसक्दा पत्रकारिता प्रभावकारी हुन नसकेको गुनासो गर्नुभयो । कार्यक्रममा प्रदेश सांसद सरस्वती बाटी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, नेकपा भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अन्जनादेवी मधिकर्मीलगायतले आजको युग सुचना, सञ्चार र प्रविधिको युग भएकाले सञ्चार जगतकै माध्यममार्फत आम नागरिक सुसूचित हुने हुनाले पत्रकारितालाई व्यवसायिक, मर्यादित, जवाफदेही र जनउत्तरदायि बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा समय समाज साप्ताहिकका सम्पादक सोम शर्मा (बजगाईं), अध्यक्ष बालमुकुन्द सुवाल र सञ्चालक राजुराम मुनंकर्मीले पत्रकारिताको व्यवसायिक विकास, मर्यादित, उत्तरदायि र जिम्मेवार पत्रकारिताका लागि समय समाजले भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
क्रियाशिल पत्रकारिता सम्मान राससका रत्नकृष्ण श्रेष्ठलाई
समय समाज राष्ट्रिय साप्ताहिक पत्रिकाले हरेक बर्ष प्रदान गर्दै आइरहेको क्रियाशिल पत्रकारिता सम्मान यस बर्ष राष्ट्रिय समाचार समितिका उपसमाचारदाता एवम् फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलाई प्रदान गरेको छ । फोटो पत्रकार श्रेष्ठलाई पाँच हजार पाँच सय पचपन्न रुपैयाँ नगदसहित दोसल्ला, भाँदगाउले टोपी र सम्मानपत्रद्धारा सम्मान गरिएको हो । उहाँलाई प्रतिनिधिसभा सांसद महेश बस्नेत, नेकपाका केन्द्रिय सदस्य एवम् चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, समय समाजका अध्यक्ष सुवालले सम्मान गर्नुभएको थिो ।


यस्तै पत्रिकाले आफ्नो बार्षिक उत्सवका अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा पत्रिकाका व्यवस्थापक एवम् पत्रकार नारायण थापालाई नगद, भाँदगाउले टोपी र कदरपत्रद्धारा सम्मान गरियो । कार्यक्रममा पत्रिकाका नियमित लेख स्तम्भकार प्रकाशकुमार कार्कीलाई समेत भाँदगाउँले टोपी र कदरपत्रद्धारा सम्मान गरिएको थियो ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु