सडक सुरक्षाकालागि सबैको सहभागिता हुनुपर्छ : मन्त्री नेम्वाङ

ठिमीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी, स्थानीयले दिए मोटरसाइकल, ब्रेथलाइजर लगायत सडक सुरक्षा सामाग्री

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले नागरिक, विभिन्न संघसंस्थाहरुको सहभागिता भएमा मात्र सडक दुर्घटना न्यूनिकरण गर्न सकिने बताएका छन् । सडक सुरक्षामा देखा परेका समस्याहरुको पहिचान गरी यसको समाधान गर्न नयाँ प्रविधिको प्रयोगले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सडक सुरक्षा थप व्यस्थित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उनले बताए । उनले ठिमीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको आफुले महसुस गरेको बताए ।

महानगरीय प्रहरी वृत्त ठिमीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कौशलटारमा शुक्रबार गरेको सडक सुरक्षा सामाग्री हस्तान्तरण कार्यक्रममा मन्त्री नेम्वाङले कोटेश्वर–साँगा सडकलाई थप व्यवस्थित बनाउने योजनाको प्रक्रिया अघि बढाइएको जानकारी दिए । ‘पछिल्ला तीन महिनामा मात्रै ठूला र निकै संवेदनशील प्रकृतिका दुर्घटना भएका छन्, ती दुर्घटनापछि हामीले चासो दिएर समाधानको पहल थालेका छौँ,’ मन्त्री नेम्वाङले भने, ‘अहिले खाल्डाखुल्डी पुर्ने, मर्मत सम्भार गर्नेदेखि सडकमा सवारी भीड नियन्त्रण गर्नेदेखि सवारीसम्बन्धी नीतिगत व्यवस्था सुधारकालागि समेत छलफल चलाइएको छ ।’

महानगरीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले सडक सुरक्षा सबैको साझा विषय भएकोले नेपाल प्रहरीका साथै विभिन्न संघसंस्था र सडक प्रयोगकर्ताहरु उत्तरदायी हुनुपर्ने बताए । सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना पूरा गर्न र विकास निर्माणको कार्यलाई तीव्रता दिन सुरक्षा महत्वपूर्ण विषय रहेको उनले बताए ।

     

कार्यक्रममा मन्त्री नेम्वाङ र महानगरीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले सुरक्षा सामाग्री हस्तान्तरण प्रहरी वृत्त ठिमीकालागि सुरक्षा सामाग्री हस्तान्तरण गरे ।

प्रहरीकालागि सुरक्षा सामाग्रीहरु मध्यपुर ठिमी नगरपालिका, स्थानीय बैंक, सहकारी लगायत विभिन्न संघस्थाहरुको आर्थिक सहयोगमा उपलब्ध भएका हुन् । वृत्तलाई साइरनजडित चार वटा मोटरसाइकल, ब्रेथलाइजर लगायत सडक सुरक्षा सामाग्रीहरु प्राप्त भएको वृत्त प्रमुख डिएसपी शान्तिराज कोइरालाले बताए । सुरक्षा सामाग्री अभावमा प्रहरीले गर्न सक्ने काम समेत प्रभावकारी हुन नसकेको अवस्थामा सुरक्षा सामाग्रीको उपलब्धताले सेवा प्रवाहमा सहयोग पुग्ने उनले बताए ।

कार्यक्रममा सांसद महेश बस्नेत, मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, महानगरीय ट्राफिक प्रहरी प्रमुख भीमप्रसाद ढकाल, महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधान लगायतले सडक सुरक्षाकालागि संघ, प्रदेश र स्थानीय सरकार तथा निजी क्षेत्रको भूमिकाबारे चर्चा गरे । भक्तपुरमा सडक सुरक्षाकालागि मध्यपुरथिमि नगरपालिकाले सडक बत्ती, सीसी क्यामेरा लगायत योजनामा सहकार्यकालागि एक करोड रुपैयाँ विनियोजन गरेको मेयर श्रेष्ठले बताए ।



प्रतिक्रियाहरु