स्यानिटाइजर पाइएन ? कोरोना भगाउन साबुनपानीले यसरी हात धुनुहोस्

भाइरस - सुन्दैमा डर लाग्ने शब्द ।

धेरैलाई थाहा भएकै कुरा हो, अहिलेसम्म कुनै भाइरसको उपचार सम्भव भएको छैन । यसको एउटा कारण हो, भाइरसहरुको आकार अत्याधिक सानो हुनु । यही कारण भाइरसलाई कुनैपनि औषधीले छुँदैन ।

भाइरसको आकार यति धेरै शुक्ष्म हुन्छ कि, सामान्य मानिसले त्यसको कल्पना पनि गर्न सक्दैनन् । १ मिटर आकारलाई १० लाख भागमा विभाजन गरौँ त– कति सानो आकारको होला त्यो ? १ मिटरलाई १० लाखदेखि २ करोड भागमा विभाजन गर्दा एउटा निस्किने सानो भाग बराबर भाइरसको आकार हुन्छ ।

एकदमै सानो आकारको हुने भएकाले भाइरसलाई ‘इलेक्ट्रोन माइक्रोस्कोप’बाट मात्रै देख्न सकिन्छ । इलेक्ट्रोन माइक्रोस्कोपबाट वस्तुलाई १ लाख गुणासम्म ठूलो बनाएर हेर्न सकिन्छ ।

आकार र प्रजाति अनुसार भाइरस धेरै किसिमका हुन्छन् । तीमध्ये धेरैजसोले मानिसलाई हानी गर्छन् । अहिले उत्पत्ति भएको कोरोना भाइरसले सारा संसार तवाह पारेको उदाहरण हाम्रै सामु छ ।

कोरोना भाइरस नियन्त्रण गर्ने औषधी पत्ता लागेको छैन । तर, यसको संक्रमण हुन नदिन साबुनमा अद्भुत क्षमता हुन्छ ।

भाइरसहरू कुनै पनि जीवको कोषभित्र मात्रै जीवित रहन्छन् । यिनीहरुले रुख, विरुवा, जनावर लगायतका ब्याक्टेरियामा समेत संक्रमण गर्न सक्छन् ।

धेरै जसो भाइरसको बाहिरी भाग लिपिड (वोसो) ले बनेको हुन्छ । जसरी मानव शरीरलाई छालाले ढाकेर सुरक्षा दिएको हुन्छ, भाइरसलाई त्यसै गरी लिपिडले सुरक्षा दिएको हुन्छ ।

त्यसबाहेक भाइरसमा प्रोटिनको घेरा हुन्छ । उक्त घेराभित्र ‘न्युक्लिक एसिड जिनोम’ अर्थात् डिएनए या आरएनए रहेको हुन्छ ।

प्रोटिनको घेराले ‘न्युक्लिक एसिड जिनोम’ लाई सुरक्षा त दिन्छ नै, अर्काे कुनै कोषमा भाइरसलाई आक्रमण गराउन सहयोग पनि गर्छ । त्यसैले, कोरोना भाइरसमा रहेको ‘न्युक्लिक एसिड जिनोम’ ले पनि यो भाइरसलाई मानिसको कोषमा आक्रमण गर्न सहयोग गर्छ ।

जब भाइरस कुनै जीवित कोषभित्र प्रवेश गर्छ, अर्काे भाइरस बन्नका लागि भाइरसको गुण सार्ने काम पनि ‘न्युक्लिक एसिड जिनोम’ ले नै गर्छ । जस्तै मानव शरिरमा ‘डीएनए’ ले त्यस्तो काम गरेको हुन्छ ।

भाइरस मानिसको कोषभित्र प्रवेश गरेपछि आफ्नो संख्या बृद्धि गर्दै जान्छ । त्यसपछि त्यसले आफू रहे–बसेको कोषलाई काम गर्न दिँदैन । यसरी भाइरसले कोषलाई आफ्नो नियन्त्रणमा ल्याउँछ ।

त्यसक्रममा भाइरसले मानव कोषहरूलाई भाइरस उत्पन्न गराउन मात्रै सक्रिय पार्न खोज्छ । तर, हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले भाइरसलाई उछिनेर नियमित कार्यमै लगाउने प्रयास गर्छ ।
भाइरस र प्रतिरक्षा प्रणालीबीचको यो द्धन्द्धका क्रममा हामीले कमजोर भएको महशुस गर्छाैं । यो नै संक्रमण भएको अवस्था हो ।

साबुनले भाइरस मार्दैन, पखाल्छ
उपचारसम्म नहुने यति सानो भाइरसलाई साबुनले भने शरीर भित्र प्रवेश गर्नबाट मज्जासँग रोक्न सक्छ । भाइरसलाई मानव शरीरभित्र रोक्न सक्ने देन चाहिँ साबुनभित्र हुने रसायनको हो ।

त्यसैले, भाइरसको संक्रमण हुन नदिन साबुन पानीले हात धुनु सबैभन्दा सुरक्षित तरिका मानिएको छ । साबुनले किन र कसरी भाइरसलाई शरीरभित्र पस्न दिदैन भन्ने कुरा बुझ्न यसको निर्माण कसरी गरिएको हुन्छ भन्ने बुझ्न जरुरी छ ।

साबुनको निर्माण तेल, बोसो, पानी, अल्काली (क्षार) र एक किसिमको नुनको सम्मिश्रणबाट भएको हुन्छ । त्यसैले, साबुनमा भएका मोलिक्युल (अणु) मा दुई छुट्टा–छुट्टै ध्रुब हुन्छन् ।

एउटा ध्रुब पानीतर्फ आकर्षण हुने प्रबृतिको हुन्छ । यसलाई रासायनिक भाषामा ‘हाइड्रोफोलिक’ भनिन्छ । अर्काे ध्रुब चाहिँ तेल अथवा चिल्लो पदार्थतर्फ आकर्षित हुने किसिमको हुन्छ, यसलाई ‘हाइड्रोफोबिक’ भनिन्छ ।

कुनै पनि किटाणुहरू हाम्रो हातमा तेलजन्य पदार्थमा टाँसिएर रहेका हुन्छन् ।

हामीले ख्याल गरेकै छौँ, तेल लागेको वा चिल्लोपन भएको बेला पानीले मात्रै हात धुँदा त्यो चिल्लापना जाँदैन । अर्थात्, पानीले चिल्लोपनालाई आफूमा समाहित गरेर लैजान सक्दैन । यो पनि भन्न सक्छौँ हामी– पानीले चिल्लोपनलाई मन पराउँदैन ।

भाइरसको बाहिरी तहमा समेत बोसोजन्य पदार्थ रहने हुँदा साबुनपानीले त्यसलाई पनि पानीसँगै बगाउन मद्दत गर्छ ।

त्यसैले, चिल्लोपनासँगै टाँसिएर रहने भएकाले पानीले मात्रै धुँदा कोरोना भाइरस हातबाट जाँदैन ।

तर, साबुनमा रहेको मोलिक्युल (अणु) ले भने पानी र तेल दुबैलाई आफूमा समाहित गराउँछ । अर्थात् यसले पानी र तेलबीच मध्यस्थकर्ताको काम गर्न सक्छ । जब हामी साबुनको प्रयोग गरेर हात धुन्छौं, पानी मन पराउने ध्रुब र तेल मन पराउने ध्रुबले पानी र तेल दुबैलाईसँगै बाँध्छ र पानीसँगै हातबाट बगाइदिन्छ ।

भाइरसको बाहिरी तहमा समेत बोसोजन्य पदार्थ रहने हुँदा साबुनपानीले त्यसलाई पनि पानीसँगै बगाउन मद्दत गर्छ ।

यसरी साबुनले हाम्रो हातबाट स–साना जिवाणुहरूलाई समेत बगाउँछ । यसकारण भाइरोलोजिष्टहरू भन्ने गर्छन्, ‘स्यानिटाइजर भन्दा पनि साबुन पानीले हात धुनुु प्रभावकारी हुन्छ ।’

बजारमा अहिले मास्कको मात्र होइन, स्यानिटाइजरको समेत अभाव छ । पाइयो भने पनि महङ्गो पर्छ । तर, साबुन पाउन कठिन छैन । यति जानकारी प्राप्त भएपछि स्यानिटाइजर पाइएन भनेर आत्तिनु पर्दैन ।

तर, साबुन पानीले हात धुँदा धुने तरिकाबारे चाहिँ उत्तिकै ख्याल गर्नुपर्छ । धुनका लागि जब हामी पानीले हात भिजाउछौँ, त्यसपछि साबुन लगाएर कम्तिमा २० सेकेण्ड हातको दुबैतिर मज्जासँग मिच्नु पर्छ । दुई पटक ‘ह्याप्पी बर्थडे टु यु’ भन्न जति समय खर्च हुन्छ, कम्तिमा त्यति समय त हात मिच्नै पर्छ । यो भन्दा कम समय मिचियो भने त्यो प्रभावकारी हुँदैन ।

बजारमा ‘एन्टी ब्याक्टेरियल’ भनेर साबुन बेच्ने गरिएको छ । तर सबै साबुनहरू सामान्य साबुनभन्दा बढी प्रभावकारी छन् भन्ने कुराको प्रमाण भने छैन । त्यसैले, हामीले प्रयोग गर्दै आएका सामान्य साबुनले राम्रोसँग हात धुनु नै सर्वाेत्तम उपाय हो ।

अल्कोहलको मात्रा ६० देखि ९० प्रतिशत रहेको स्यानिटाइजरले पनि जीवाणुहरूको सुरक्षा तहलाइ नष्ट गर्छ । यद्यपी यो साबुन नभएको अवस्थामा मात्रै प्रयोग गर्नुपर्छ । पहिलो प्राथमिकता एवं प्रभावकारिता भनेको साबुन नै हो ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु