चाँगुनारायण नगरपालिकाको एक अर्ब ४८ करोडको बजेट पारित, कुन शीर्षकमा कति विनियोजन ?

भक्तपुर । चाँगुनारायण नगरपालिकाले पुर्वाधार निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर एक अर्ब ४८ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको सातौं नगरसभाबाट पारित भएको बजेट, नीति तथा कार्यक्रमबारे पत्रकार सम्मेलन गर्दै मेयर सोमप्रसाद मिश्रले आगामी आर्थिक वर्ष ०७७÷७८ कालागि एक अर्ब ४८ करोड २७ लाख तीन हजार ६ सय रुपैयाँ बराबरको बजेट पारित भएको सार्वजनिक गरे ।

नगरपालिकाले सडक तथा यातायात क्षेत्रको विकासकालागि २८ करोड र एक घर एक धारा कार्यक्रमकालागि चार करोड रुपैयाँ विनियोजन गरेको छ । नगर क्षेत्रका सामुदायिक विद्यालयमा छात्राहरुको शिक्षा, बालविवाह निरुत्साहन र किशोरीहरुको सुरक्षित भविष्य निर्माणमा सहयोगकालागि ‘बचत खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रमकालागि ५० लाख रुपैयाँ विनियोजन गरिएको मेयर मिश्रले बताए ।

नगरपालिकाले आगामी वर्ष आफ्नै कार्यालय भवन निर्माणलाई प्राथमिकतामा राखेको छ । साढे दुई वर्षभित्र नयाँ भवन निर्माण गरी त्यहीबाट सेवा विस्तार गर्ने लक्ष्यसहित भवन निर्माणकालागि आगामी वर्ष दश करोड रुपैयाँ विनियोजन गरेको मेयर मिश्रले बताए ।

५० करोड लागतमा नयाँ भवन निर्माण गर्ने नगरपालिकाले इष्टिमेट छ । भवन निर्माणकालागि नगरपालिकाले वडा नं. ५ को घुमाउनेमा आफ्नै भवन निर्माणकालागि ठेक्का आव्हान गरिसकेको छ । हाल नगरपालिकाले खरिपाटीस्थित साँघुरो भवन भाडामा लिएर कार्यालय सन्चालन गरेको छ । पर्याप्त ठाउँ नहुँदा काम गर्नै समस्या हुने अवस्था रहेको छ । नयाँ भवन बनुञ्जुल साँघुरै भवनमा भएपनि काम चलाउनुपर्ने अवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत चिरिञ्जिवी तिम्सीनाले बताए ।

बेरोजगार युवालाई स्वरोजगार बनाउने उदेश्यले मेयरसँग उद्यमशिलता कार्यक्रमअन्तर्गत युवाको सम्वद्र्धन उद्यमशिलता प्रवद्र्धन कार्यक्रमकालागि तीन करोड रुपैयाँ विनियोजन गरेको छ । नगरमै श्रम पसिना, नगरमै रोजगारी भन्ने नारासहित उद्यमशिलता प्रवद्र्धन कार्यक्रमबाट युवाहरुलाई आत्मनिर्भर बनाउने र संमृद्ध नगर बनाउने उदेश्य रहेको मेयर मिश्रले बताए । यस्तै, उज्यालो चाँगुनारायण कार्यक्रमअन्तर्गत नगर क्षेत्रका मुख्य सडकमा बिजुली बत्ती जडानकालागि नगरपालिकाले ५० करोड छुट्याएको छ ।

प्रविधियुक्त गुणस्तरीय शिक्षाकालागि नगरपालिकाले तीन करोड २८ लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै, नगरपालिकाले विपन्न नगरबासीको स्वास्थ्य बीमा साझेदारीकालागि एक करोड रुपैयाँ विनियोजन गरेको छ भने स्वास्थ्य क्षेत्रकालागि कुल तीन करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

नगरपालिकाले कोभिड नियन्त्रण कोषमा एक करोड रुपैयाँ विनियोजन गरी आवश्यकताअनुसार पीसीआर परीक्षण, तत्काल उद्धार, आइसोलेसन र कन्ट्याक्ट टे«ेसिङ, क्वारेन्टाइन व्यवस्थापन लगायतका कामलाई प्राथमिकतामा राख्ने निर्णय गरेको उपमेयर विना बाँस्तोलाले बताइन् ।

संघ र प्रदेशबाट ९३ करोड अनुदान

नगरपालिकालाई आगामी वर्ष संघ र प्रदेशबाट विभिन्न शीर्षकका अनुदानवापत् ९३ करोड २७ लाख रुपैयाँ विनियोजन भएको छ । नगरपालिकाले आन्तरिक आयतर्फ पर्यटन, माटो, पानी टेक्का, घर नक्सा लगायतबाट २८ करोड ७१ लाख रुपैयाँ प्रक्षेपण गरेको छ ।

संघीय सरकारबाट वित्तीय समानीकरणतर्फ १६ करोड ५२ लाख, राजश्व बाँडफाँडतर्फ आठ करोड ८७ लाख, विशेष अनुदानतर्फ दुई करोड, ससर्त अनुदानतर्फ २९ करोड ५६ लाख र समपुरक अनुदानतर्फ एक करोड ३६ लाख रुपैयाँ विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत चिरिञ्जिवी तिमल्सिनाले बताए ।

यस्तै, प्रदेश सरकारबाट समानीकरणतर्फ तीन करोड २० लाख, ससर्त अनुदानतर्फ दुई करोड ९७ लाख, समपुरकतर्फ एक करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै, जग्गा रजिष्ट्रेसनबाट २५ करोड र चालु आवको बैंक मौज्दातबाट २८ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेको छ ।

यसवर्ष ११ किमि सडक कालोपत्रे

नगरपालिकाले चालु आर्थिक वर्षमा एघार किलोमिटर सडक कालोपत्रे गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष ०७६÷७७ मा ११.८१ किमि सडक कालोपत्रे भएको जनाएको छ ।

यस्तै, ६ किमि ग्राभेल, १.७ किमि सडक ढलान र ३.५ किमि सडकमा रिटेनिङ वाल लगाइएको छ । तीन किमि क्षेत्रमा ड्रेन निर्माण भएको छ भने ११ वटा खानेपानी योजना निर्माण भएका छन् । नगरपालिकाले मुहानपोखरी–महादेव पोखरी क्षेत्रमा पर्यापर्यटनको प्रवद्र्धनकालागि चार किमि दुरीको पदमार्ग निर्माण गरेको छ ।

तीन करोड १० लाख रुपैयाँ खर्चिएर ४.०२ किमि पदमार्ग निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत तिम्सीनाले जानकारी दिए । नगरपालिकाले वडा नं. ६ मा हरिगुरु मार्ग गडगडे बाघमारा पाटी बस्तीहरुलाई जोड्ने कार्य यस आर्थिक वर्षमा सम्पन्न भएको छ । जसले गर्दा काभ्रे जिल्ला समेतलाई चाँगुनारायणसम्मको यात्रा सहज भएको छ ।



प्रतिक्रियाहरु