एकैदिन ३७ हजार फोरजीका ग्राहक थपिए

काठमाडौँ । नेपाल टेलिकमका एकै दिन ३७ हजार फोरजी प्रयोगकर्ता थप भएका छन् । टेलिकमले बुधबार देशका विभिन्न पाँच दर्जन सहरमा फोरजी विस्तार गरेको एक दिनमै सो सङ्ख्या बराबरका ग्राहक फोरजी सेवामा आबद्ध भएको कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो सङ्ख्या पुराना टूजी र थ्रीजी प्रयोगकर्ता फोरजीमा आबद्ध भएको समेतको हो ।
सङ्ख्यात्मक हिसाबले एकै दिन थप भएका फोरजी ग्राहकमध्ये यो अहिलेसम्मकै उच्च सङ्ख्या हो । तीन वर्ष अगाडि फोरजी सेवा सुरु गरे पनि टेलिकमका अहिलेसम्म आठ लाख मात्र फोरजी ग्राहक थिए । बुधबार यो सेवा विस्तार भएसँगै फोरजीमा आबद्ध हुने ग्राहकको सङ्ख्या तीव्र रूपमा बढेको प्रबन्ध निर्देशक अधिकारीले बताउनुभयो । यस्तो सङ्ख्या निरन्तर तीव्र रूपमा बढिरहेको छ, उहाँले भन्नुभयो, बिहीबार पनि थप नयाँ स्थानमा फोरजी सेवा सुरु भएकोले फोरजीमा धेरै ग्राहक आबद्ध हुने देखिन्छ ।
टेलिकमको फोरजी÷एलटीई नेटवर्क विस्तार परियोजना अन्तर्गत करिब ६५ लाख फोरजी ग्राहक थप हुने अनुमान छ । हाल विस्तार भइरहेको नेटवर्कको अधिकतम क्षमता नै त्यति भएकोले ग्राहक वृद्धिमा यसले सहयोग पु¥याउने अधिकारीको विश्वास छ । टेलिकमले पहिलोपटक २०७३ पुस १७ गते काठमाडौँ उपत्यका र पोखरामा मात्र फोरजी सेवा सीमित राखेकोले यसका ग्राहक प्रतिस्पर्धी अन्य कम्पनीको तुलनामा भने बढ्न सकेन ।


देशभर एकैपटक फोरजी नेटवर्क विस्तार गर्ने योजना अगाडि सारेपछि टेलिकमले दुई स्थान बाहेक अन्य क्षेत्रमा यसको विस्तार गर्न सकेन । पछिल्लो पटक गत माघमा फोरजी विस्तारका लागि उपकरण आपूर्तिकर्ता चिनियाँ कम्पनीहरूसँग सम्झौता टुङ्गो लागेपछि मात्र परियोजना अगाडि बढेको थियो । सम्झौता भएको आठ महिनापछि टेलिकमले पहिलो चरणमा बुधबार ५९ वटा साना तथा ठूला सहरमा यो सेवा सुरु गरेको हो । कुल १३३ वटा बीटीएस स्थापना गरेर विस्तारित योजनाको पहिलो चरणको औपचारिक कार्यक्रम गरेरै टेलिकमले सेवा सुरु भएको घोषणा गरेको हो । टेलिकमले सम्झौता अनुसार माघभित्रै देशका हरेक ठाउँमा फोरजी सेवा विस्तार गर्ने घोषणा बुधबार पनि दोहो¥याएको छ ।

ग्राहक विस्तार योजना अनुरुप टेलिकमले टूजी र थ्रीजीका ग्राहकलाई निःशुल्क रूपमा फोरजी सिमकार्ड साटफेर सुविधा पनि उपलब्ध गराएको जनाएको छ । त्यस्तै नयाँ फोरजी प्रयोगकर्तालाई तीन दिनसम्म प्रयोग गर्न सक्ने दुई सय एमबी डेटा र डेटा प्याकेज खरिदकर्तालाई उत्तिकै बराबरको डेटा बोनस सुविधा पनि कम्पनीले उपलब्ध गराएको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु