सुरक्षा व्यवस्था राम्रो बनाएकोमा निमित्त प्रहरी महानिरीक्षकबाट धन्यवाद


काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले चीनका महामहिम राष्ट्रपतिको २ दिने नेपाल भ्रमणको सिलसिलामा सुरक्षा व्यवस्थापनलाई मजबुत बनाई उत्कृष्ट रुपमा आ आफ्नो जिम्मेवारी त्रुटिरहित तवरले सम्पन्न गरेकोमा सबै दर्जाका प्रहरी कर्मचारीलाई धन्यवाद दिनु भएको छ । कार्कीले प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा धन्यवाद दिनुभएको हो ।
प्रधानमन्त्री, गृहमन्त्री एवम् चीन सरकारबाट समेत नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा भएको उल्लेख गर्दै निमित्त प्रहरी महानिरीक्षक कार्कीले भन्नुभयो, ‘यसको हकदार संगठन प्रमुखदेखि सबै दर्जाका प्रहरी कर्मचारीहरु रहेका छन् ।’ सुरक्षामा सफल व्यवस्थापनको प्राप्त अनुभवबाट आगामी दिनमा अझै उत्कृष्ट तरीकाले अगाडि बढ्न निर्देशन दिँदै निमित्त प्रहरी महानिरीक्षक कार्कीले भन्नुभयो, ‘सबल टिम, सामूहिक भावना र आ आफ्नो भूमिका पुरा गर्नमा नै सफलता छ, त्यो सबैले बुझ्नुपर्छ ।’
संगठनलाई उत्कृष्ट बनाउन व्यवसायिकताका साथ झन बढी जिम्मेवार भएर राज्यले दिएको दायित्व रचनात्मक रुपमा सम्पादन गर्न अग्रसर हुनुपर्ने उहाँले बताउनुभयो । स्पष्ट र स्वच्छ तरीकाले नागरिक सेवा दिने कार्य समुदाय प्रहरी साझेदारी कार्यक्रमले समेटेको उल्लेख गर्दै उहाँले यस कार्यक्रमलाई सक्रिय रुपमा अगाडि लैजानुपर्ने बताउनुभयो । अपराध विरुद्ध कठोरतापूर्वक प्रस्तुत हुनपर्नेमा जोड दिँदै समाजमा हुने आवाञ्छित गतिबिधि नियन्त्रणमा कानूनी कठोरता र विवेकपूर्ण निर्ममता अपनाई अगाडि बढ्न उहाँले निर्देशन समेत दिनुभयो ।
कार्कीले नजिकिंदै गरेका महान चाड शुभ दिपावली, छठ पर्व एवम् नेपाल संवतको सबैलाई शुभकामना दिँदै उक्त समयमा कुनै पनि अपराधिक गतिबिधि हुन नदिन थप सक्रिय रुपमा जिम्मेवारी वहन गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु