कांग्रेसले स्थानीय तहमा हुने भ्रष्टाचारविरुद्ध खबरदारी गर्छ: प्रवक्ता शर्मा

काठमाडौँ ।  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टीले सबै स्थानीय तहमा भएका भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन्।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा भएको अनियमितता, बेथिति, ढिलासुस्ती र नगरप्रमुखको मनोमानीविरुद्ध पार्टीको नगर संघर्ष समितिले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले स्थानीय तहमा एक रुपैयाँ मात्र पनि भ्रष्टाचार भए कांग्रेस विरोधमा उत्रने बताए।

शर्माले नेकपा नेतृत्वको सरकार गठनपछि देशमा वाइडबडी जहाज खरिद प्रकरणदेखि बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा कब्जा गरेको भन्दै त्यसविरुद्ध विरोधसभाबाटै जनतालाई जगरुक बनाउने बताए।

‘नेकपाको नेतृत्वमा दुई तिहाइको समर्थनमा सरकार बनेपछि जे पनि गर्दा हुन्छ भन्ने मानसिकताले नेकपालाई जनतालाई पत्याउन छाडिसकेको यो प्रमाण हो,’उनले भने।

उपनिर्वाचनको परिणामले सत्तारुढ नेकपालाई ‘सच्चिने कि सक्किने’ भन्ने दुई वटा विकल्प मात्र रहेको दाबी गर्दै शर्माले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहनगर भरतपुर महानगरपालिका र प्रधानमन्त्रीको स्थायी घर भएको भक्तपुरमा समेत नेकपाले पराजित भएकाले नेकपालाई सच्चिन सन्देश दिएको बताए।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निर्वाचन क्षेत्र समेत रहेको कागेश्वरी मनहरामा भ्रष्टाचार, अनियमितता, बेथिति र ढिलासुस्ती भएको भन्दै कांग्रेस कागेश्वरी मनोहरा नगर संघर्ष समितिले २७ बुँदे प्रचार सार्वजनिक गरेको छ।

विरोधसभामा नगरपालिकामा भएको भ्रष्टाचारको विषयमा पार्टीको कागेश्वरी मनोहरा संघर्ष  समितिका संयोजक शंकर थापाले अनियमितता र भ्रष्टाचारको फेहरिस्त प्रस्तुत गरेका थिए।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु