विदेशमा २८ हजार ९ सय नेपालीलाई कोरोना संक्रमण, मृत्यु हुनेको संख्या १४३ पुग्यो

काठमाडौँ । विदेशमा रहेका झण्डै २९ हजार नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणले शनिबार साँझसम्म १४ देशमा रहेका १ सय ४३ नेपालीको ज्यान गएको छ ।विदेशमा यो सातामात्रै  थप १३ जना नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, ओमान लगायतका देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको बढ्ने दर न्युन हुँदै गइरहेको छ ।

समितिका अनुसार शनिवार साँझसम्म विदेशमा २८ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २५ हजार २ सय २६ जना गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन् । एनआरएनएका अनुसार हाल सम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

१८ हजार २ सय ९३ जनाको उद्धार

यसैबीच कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन सुरु भएपछि बिभिन्न देशमा रोकिएका नेपालीहरुको उद्धारको काम तीब्रता दिइएको छ । एनआरएनए र विदेशस्थित नेपाली कुटनीतिक नियोगको संयुक्त पहलबाट जुनको पहिलो सातादेखि हालसम्म २१ देशका १८ हजार २ सय ९३ जनाको उद्दार गरिएको छ ।

अफगानिस्तान, अष्ट्रिलया, ओमान, कतार, म्यानमार, कुवेत, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, वंगलादेश, मलेसिया, माल्दिभ्स, श्रीलंका, युएई, साउदी अरब, सिंगापुर, हङ्गकङ्ग, पाकिस्तान, बहराइन, अमेरिका र बेलायत लगायतका देशमा रहेका नेपालीहरु नेपाल फर्किका छन् ।

१ सय १५ शव नेपाल ल्याइयो

यसैबीच विदेशमा निधन भएका नेपालीको ३ सय ५२ शव मध्ये  १ सय १५ जनाको शव नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ भने बाँकी १०५ शव व्यवस्थापनको काम बाँकी रहेको छ । ती शव मध्ये १ सय ३२ जना नेपालीहरुको शव परिवारको सहमतिमा विदेशमै अन्त्येष्टि गरिएको  एनआरएनएले जनाएको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु