महालक्ष्मीमा समुदायस्तरमा फैलिएको छैन, अब छिट्टै कोरोनामुक्त हुन्छ : मेयर श्रेष्ठ

ललितपुर । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले नगर क्षेत्रमा समुदाय तहमा कोरोनाको संक्रमण नफैलिएको पुष्टि भएको दाबी गरेका छन् ।

महालक्ष्मीमा पछिल्लो साता २३ जनामा संक्रमण पुष्टि भएपछि नगरपालिकाले समुदायस्तरको नमुना संकलन गरी परीक्षण गराएको थियो ।

नगर क्षेत्रका दुई १३ जनाको पीसीआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको मेयर श्रेष्ठले जानकारी दिए । उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘परीक्षण गरिएका सबै जनाको नतिजा नेगेटिभ आएको खबर सुनाउन पाउँदा खुसी लागेको छ । यसबाट कोरोना संक्रमण समूदाय तहसम्म पुग्न सकेको छैन भन्ने पुष्टि भएको छ ।’

विदेशबाट फर्केका, अन्य रोगको उपचारका लागि अस्पताल गएका, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र काठमाडौंबाट अन्य जिल्लामा प्रवेश परीक्षा दिन जान लागेका विद्यार्थीहरुलाई शंकाको आधारमा स्वास्थ्य परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

संक्रमितहरु निको भइरहेको र समूदायसम्म नपुगेकाले यसबाट आत्तिनुपर्ने अवस्था छैन । मेयर श्रेष्ठले अझैपनि उच्चस्तरको सजगता र सतर्कता भने अपनाउनुपर्ने नगरबासीलाई आग्रह गरेका छन् ।

उनले महालक्ष्मी नगरपालिकालाई छिट्टै कोरोनामुक्त बनाउने समेत घोषणा गरेका छन् ।



प्रतिक्रियाहरु