सिन्धुलीको दुधौली नगरपालिकामा प्रज्ञा प्रतिष्ठान



सिन्धुली । सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा दुधौली प्रज्ञा प्रतिष्ठान गठन गरिएको छ । दुधौलीमा भएको राष्ट्रिय तथा स्थानीय साहित्यकार,स्थानीय बुद्धिजीवी,नेता,शिक्षक तथा अगुवाहरुको सर्वपक्षीय एक भेलाले सर्वसम्मतिमा साहित्यकार दिल पौडेलको संयोजकत्वमा २३ सदस्यीय समिति गठन गरेको हो । समितिले छिट्टै बिधान बनाउने, स्थानीय प्राज्ञिक ब्यक्तित्वको खोजी गर्ने र तत्काल प्रतिष्ठानको ब्यवस्थित कार्यालय संचालन गरी भवन निर्माणका लागि समेत पहल गर्ने संयोजक पौडेलले बताउनुभयो ।
दुधौली प्रज्ञा प्रतिष्ठान गठनकै अवसर पारेर सिन्धुलीको हत्पतेमा जन्मिएका साहित्यकार प्रा.डा.कृष्णहरी बराल, महेश प्रसाईं, हरीप्रसाल सिलवाल, दुधौलीकै साहित्यकार दिल पौडेल, महाकवि चन्द्रपसाद न्यौपाने, प्रेस काउन्सिलका सदस्य चेतनाथ धमला र साहित्यकार समेत रहेका पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी साउँतेलीलाई दुधौली साहित्कि सम्मानले सम्मानित गरिएको थियो । सोही अवसरमा नगरपालिकाले पुस्तकालयको समेत सुरु गरेको छ । पुस्तकालय संचालनका लागि सम्मानित ब्यक्तिहरुले करिब २ सय ५० थान पुस्तक प्रदान गर्नु भएको थियो ।


कार्यक्रममा दर्जन भन्दा बढी राष्ट्रिय तथा स्थानीय कविहरुले समसामयिक बिषयमा कविता वाचन गरेको थिए । कार्यक्रममा दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले पुर्वाधार बिकासमा जोड दिंदै आए पनि पुर्वाधारको पनि पुर्वाधारको बिकासका लागि प्रज्ञा प्रतिष्ठानलाई रातो किताबमै उल्लेख गरी प्राथमिकताका साथ बजेट बिनीयोजन गरिने बताउनुभयो । कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख पदमसिंह बिष्टले स्थानीय सरकारले आफैं प्रज्ञा प्रतिष्ठान गर्नु नयाँ सुरुवात भएको बताउँदै यस अभियानलाई देशब्यापी रुपमा बिस्तार गर्नुपर्ने उल्लेख गर्नुभयो ।
 



प्रतिक्रियाहरु