लगातारको झरीले राजधानी लगायतको जनजीवन प्रभावित

 
भक्तपुर । बिहिवारदेखि लगातार रुपमा परेको झरीले राजधानी लगायतको जनजीवन प्रभावित भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभर बदलीसँगै वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । मौसमी प्रणालीका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद्का अनुसार शनिवार देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी युक्त विशेष बुलेटिन जारी गर्दै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका कतिपय स्थानमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन भनेको छ । उपत्यकामा वर्षाका कारण जनजीवन प्रभावित भएको छ । वर्षातसँगै मौसम बदलीका कारण काठमाडौँमा बढी चिसो महसुस गरिएको छ । 
महाशाखाका अनुसार आज काठमाडौँमा २१ मिलिमिटर वर्षा भएको छ । भैरहवामा ३९, दाङ्मा २७, पोखरामा २३, वीरेन्द्रनगरमा २४, नेपालगञ्जमा १०, डडेल्धुरामा आठ, धनगढी र दिपायलमा समान सात मिलिमिटर वर्षा भएको छ । काठमाडौँको न्यूनतम तापक्रम आठ दशमलव आठ र अधिकतम तापक्रम १४ दशमलव नौ रहेको जनाइएको छ ।



प्रतिक्रियाहरु