कर्णालीको अदुवा युरोपेली बजारमा

कर्णाली । विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो रु पाँच–१० मा बिक्री गर्दै आएका उनीहरुले हाल रु ३० देखि ७५ सम्ममा घरकै मझेरीबाटै अदुवा बिक्रीवितरण गर्न पाएका छन् । यतिबेला अदुवा उत्पादक किसानलाई अदुवा बिक्रीवितरण गर्न भ्याइनभ्याइ छ । यसको सङ्कलन र बिक्रीवितरण गर्ने यो उचित समय पनि हो । अदुवा कृषकले आफ्नो उत्पादनका लागि भारतीय बजार मूल्य कुर्नु परेको छैन । अहिले आफ्नै प्रदेशमा सहज तरिकाले बिक्रीवितरण गरिरहेका छन् । 
 
आफ्नो उत्पादनले बजार र मूल्य पाउन थालेपछि किसानको आकर्षण अदुवाखेतीमा बढ्दै गएको छ । यसअघि परम्परागतरुपमा गरिँदै आएको अदुवाखेती अहिले आधुनिक एवं व्यावसायिकरुपमा गर्दै जाँदा कर्णालीका अदुवा कृषकले यसलाई नगदे खेतीका रुपमा हेर्न थालेका छन् । भेरीगङ्गा नगरपालिका– ५ सुर्खेतस्थित छिन्चुको दक्षिणपूर्वी भागमा रहेको कालीदमारमा विसं २०७० मा स्थापित अदुवा प्रशोधन उद्योग ‘द अर्गानिक भ्याली प्रालि’ ले आव २०७१/०७२ यता अदुवा, टिमुर, बेसार, अलैँची, मेथी, निबुवा, कफी र लेमन ग्रास जुसका क्षेत्रमा काम गर्दै आइरहेको छ । प्रालिले किसानको अदुवालगायतका उत्पादन लिन थालेपछि उनीहरुलाई सहज भएको हो ।  प्रालीले आफ्ना उत्पादनलाई नेपाली बजारभन्दा युरोपियन बजारमा निर्यात गर्दै आएको छ । हामीले सुकेको चाना पठाउने काम गर्दै आएका छौँ । खासगरी उद्योग सञ्चालनपश्चात् पहिलो पटक आर्थिक वर्ष ०७५/०७६ मा २६ टन अदुवाको चाना पठाउँदा प्रतिकिलो अमेरिकन डलर रु ४.८५ बिक्री गर्दा रु एक लाख चार हजार आम्दानी गरेको थियो । 
 
प्रालिले युरोपियन मुलुक जर्मन, नेदरल्याण्ड, युक्रेन, स्वीडेनलगायतका देशमा निर्यात गर्दै आएको छ । चालू आर्थिक वर्षमा १०० टन माथि अदुवा निर्यात गरेर रु पाँच लाख ८० हजार अमेरिकी डलर आम्दानी गर्ने अपेक्षा रहेको प्रबन्ध निर्देशक नेवाले बताए ।  -पुस २७



प्रतिक्रियाहरु