प्रहरी रनिङ कप पुरुष भलिबलको उपाधि प्रदेश नं. एकलाई


काठमाडौं । प्रहरी रनिङ कप पुरुष भलिबलको उपाधि प्रदेश नं. एकले हात पारेको छ ।  ६४औं प्रहरी दिवस २०७६ को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता अन्तर्गत बिहिवार सम्पन्न फाईनल स्पर्धामा  प्रदेश नं. तीनलाई पराजितगर्दै प्रदेश नं. एकले ले उपाधि हात पारेको हो ।
    प्रतियोगिता समापनका अवसरमा बिहीबार सोही प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल प्रहरी खेलकूद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रथम हुने टीम १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरलाई रनिङ कप र नगद पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रमलाई सम्बोधनगर्दै प्रहरी महानिरीक्षक खनालले खेलले व्यक्तिलाई अनुशासित र स्वावलम्बी बनाउने चर्चा गर्दै प्रहरीको जीवनमा  खेल अभिन्न अंगको रुपमा रहने बताउनुभयो ।
खेल जीवनमा खेलाडीहरू सदैव जोस, जाँगर र इमानदारीका साथ अगाडि बढ्नुपर्ने उल्लेख गर्दै खनालले नेपाल प्रहरीका खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरी खेलकुदलाई गर्व गर्न लायक बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल प्रहरीको खेलकुद टिमले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमै महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले खेलकुद टिमले व्यवसायिक क्षमतामा थप अभिवृद्धि गर्न क्रियाशील हुनुपर्ने बताउनुभयो ।   


 प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकूद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले द्वितीय हुने टिमका खेलाडीहरुलाई पदक, प्रमाणपत्र, शील्ड र नगद पुरस्कार, सहभागी टिमलाई मोमेन्टो र प्रतियोगिताका रेफ्रिहरुलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उहाँले कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै मानिसलाई शारीरिक रुपमा स्वास्थ्य र मानसिक रुपमा सबल राख्न खेलकुदले मद्दत पु¥याउने विचार व्यक्त गर्दै खेलकुदको दिगो विकासका लागि प्रतिभावान खेलाडीहरुको समयमै उचित संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले प्रतियोगिताका उत्कृष्ट ब्लकर र स्पाईकरलाई पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमको सुरुमा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले खेलका रेफ्रीलाई भलिबल हस्तान्तरण गरी फाइनल खेलको उद्घाटन गर्नुभएको थियो । उक्त प्रतियोगिता अन्तर्गत १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा टीमबीच आजै भएको फाइनल खेलमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर टीम विजय भएको हो । असोज ५ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १० टीमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने टीमलाई क्रमश नगद ५० हजार ५ सय ५५ रुपैयाँ र ३५ हजार ५ सय ५५ रुपैयाँ एवम् शील्ड, पदक, प्रमाणपत्र तथा सर्वोत्कृष्ट हुने खेलाडीलाई १० हजार ५ सय ५५ रुपैयाँ र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो । सो अवसरमा खेलकूद कार्यक्रम उपसमितिका संयोजक प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु