बिग ब्याशमा सन्दीप लामिछानेले लिए तीन विकेट


भक्तपुर । बिग ब्याश लिग क्रिकेटमा सन्दीप लामिछानेले एकै खेलमा तीन विकेट लिएका छन् । लामिछानेको सर्वाधिक तीन विकेट संगै  उनी आवद्ध टिम मेलबर्न स्टार्सले पाँचौँ जित दर्ता गरेको छ । शनिबार भएको खेलमा स्टार्सले मेलबर्न रेनिगेड्सलाई ८ विकेटले पराजित गरेको हो ।
एक सय ४३ रनको लक्ष्य पछ्याएको स्टार्सले १९.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । स्टार्सको जितमा मार्कस स्टोइनिस ६८ र ग्लेन म्याक्सवेल पनि ४० रनमा नट आउट रहे । निक म्याडिन्सनले १७ रन तथा बेन डंकले १५ रनको योगदान गरे । टस हारेर पहिला ब्याटिङ गरेको रेनिगेड्सले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४२ रन बनाएको थियो ।
उसका लागि शन मार्शले सर्वाधिक ४३, ब्यू वेब्स्टरले २९, एरोन फिन्च २५, विल सदरल्याण्ड १६, साम हार्परले १२ रन बनाए भने अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । मेलबर्न स्टार्सका लागि सन्दीपले ३ विकेट तथा डेल स्टेन र एडम जाम्पाले २–२ विकेट लिएका थिए ।

 



प्रतिक्रियाहरु