सन्दीप आबद्ध जमैका सेमिफाइनलमा

काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी २० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई ६ विकेटले पराजित गरेपछि जमैका आफ्नो खेल्न दुई खेल अगावै सेमिफाइनल पुग्न सफल भएको हो । यसअघि सन्दीपको टोली जमैकाको बिहीबार राति सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्ससितको खेल भने वर्षाका कारण रद्द भएको थियो ।
 
 
 उक्त खेलमा दुवै टोली एकएक अङ्क बाँड्न बाध्य भए । तीन अङ्कमा सीमित सेन्ट किट्स प्रतियोगिताबाट बाहिरिएको छ । उसले हालसम्म नौ खेलमा एकमा जीत तथा आठमा पराजय भोगेको छ । जमैका हालसम्म आठ खेलमा तीनमा जीतका साथ सात अङ्कसहित चौथो स्थानमा छ । 
 
 
लिगमा शतप्रतिशत नतिजा निकाल्न सफल ट्रिनबागो नाइट राइडर्स १६ अङ्क बनाउँदै यसअघि नै सेमिफाइनल पुगिसकेको छ । उसले दुई खेल खेल्न अझै बाँकी छ । लिगमा सबै खेल खेलिसकेको गुयाना अमेजन वारियर्स हालसम्म १० खेलमा ६ मा जीतका साथ १२ अङ्क बनाएर अन्तिम चारमा स्थान बनाउन सफल भएको छ । 
भदौ १९



प्रतिक्रियाहरु