माघ १० देखि तीन दिने नगरकोट महोत्सव


भक्तपुर । उपतयकाकै प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा थप पर्यटक ल्याउँने उदेश्यले नगरकोट महोत्सवको आयोजना गरिने भएको छ । पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्यका साथ सुन्दर पर्यटकीय स्थल नगरकोटमा तीन दिने महोत्सव हुने भएको हो ।
नेपाल भ्रमण वर्ष २०२० र सोनम ल्होसारको अवसरमा आयोजना हुने महोत्सव  माघ १०, ११, १२ गते सञ्चालन हुने बताइएको छ । काभ्रे र भक्तपुर जिल्लाको सिमानामा रहेको नगरकोटबाट गणेश, लाङ्टाङ गौरीशंकर, सगरमाथालगायतका हिमश्रृङ्खला देखिनुका साथै सुर्योदय र सुर्यस्तको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
पर्यटकीय स्थल नगरकोटमा पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै दोश्रो नगरकोट महोत्सवलाई मण्डनदेउपुर नगरपालिका काभ्रे, चाँगुनारायण नगरपालिका भक्तपुर, नेपाल पर्यटन बोर्ड, बागमती प्रदेश सरकार, पर्यटन व्यवसायीलगायतका विभिन्न संघ संस्थाहरुको सहयोग रहेको छ । पर्यटन बर्षलाई सफल पार्नको लागि स्थानीय मौलिक झल्किने विभिन्न प्रस्तुतिहरु प्रदर्शन र लोपोन्मुख बाजागाजाहरु साथै स्थानीय खानाको परिकारहरु प्रदर्शन गरिने नगरकोट नाल्दुम पर्यटन विकाश समितिका अध्यक्ष नविन गुरुङले जानकारी दिए ।
महोत्सवलाई सफल पार्न आयोजक संस्था नगरकोट नाल्दुम पर्यटन विकास समितिले विभिन्न कार्यक्रमहरु गर्दै प्रचारप्रसार गर्दै आइरहेको छ । ‘प्राकृतिक सम्पदा कला र सँस्कृति, पर्यटनको विकाश नगरकोटको उन्नती’ भन्ने मूल नाराका साथ मनाउन लागेका महोत्सवमा ख्याती प्राप्त कलाकारहरु चन्द्र कुमार दोङ, इन्दिरा गोले, विशाल काल्देन, शशिकला मोक्तानको प्रस्तुती रहने छ । त्यसैगरि अनिश योन्जान, बबिता पाखृन सरोज लामिछाने, प्रभाव दोङ, कमला दोङ स्मृति गौतम, राजेश ढकाल, वाङ्छुराज वाइबा, अदित्य श्याङ्बो, सम्बर लामा, मुस्कान योन्जान, जमुना योन्जानलगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।
स्थानीय खाना, ढिकी, जातो, हलो, स्थानीय संस्कृति परम्पराको प्रस्तुती समेत हुने महोत्सवमा ५० वटा स्टल हुने अध्यक्ष गुरुङ्गले बताए । पूर्ण रुपमा निःशुल्क महोत्सवको अवलोकन गर्न सकिने व्यवस्था आयोजकले गरेको छ । महोत्सवमा करिव १५ हजारको उपस्थिती हुने १ करोड रुपैयाँ भन्दा माथीको कारोवार हुने अनुमान आयोजकको छ ।



प्रतिक्रियाहरु