भक्तपुरमा डेंगुको संक्रमण नियन्त्रण अभियान शुरू


भक्तपुर । भक्तपुरमा डेंगुको संक्रमण भेटिए पछि भक्तपुर जिल्लाभर रोग नियन्त्रण तथा रोकथाम अभियान शुरू गरिएको छ । मंगलबारबाट शुरू गरिएको अभियान अन्तर्गत जिल्लाका सरोकारवालाको संयुक्त टोलीले सुर्यविनायक नगरपालिकामा डेंगुका बारेमा गम्भीर छलफल गरेको छ । जिल्लामै पहिलो पल्ट एक दर्जको संख्यामा रोगी फेला परेपछि रोग नियन्त्रणको पहल थालिएको हो ।
जिल्लामा आजैदेखि द्रुत प्रतिकार्य समुहको बैठक बसी जिल्लाभर रोकथाम गर्ने अभियान सुरु गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो । प्रजिअ भट्टक अनुसार, जिल्लाका चारवटै नगरपालिकामा रोग नियन्त्रण तथा रोकथाम अभियान सञ्चालन गर्न एक समन्वय समिति बनाईएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले अभियान अन्तर्गत सुर्यबिनायक नगरपालिका भित्रका जनप्रतिनिधि, पत्रकार, स्वास्थ्यचौकी र नगर स्वास्थ्य केन्द्रका प्रमुखसँग डेंगु रोकथामका बारेमा समन्वय बैठक तथा अभिमुखीकरण कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै सुर्यविनायक नगरपालिका प्रमुख बासुदेब थापाले डेंगु रोग नियन्त्रणका लागि प्रयास शुरु गरिएको बताउदै रोग नियन्त्रणका लागि नगरले सबै खालका प्रयास र प्रयत्नहरु गर्ने बताउनुभयो । प्रमुख थापाले सातदिनसम्म निरन्तर माईकिङ गरेर डेंगु नियन्त्रणबारे नगरबासीलाई सचेत गराईने जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी तथा गैर सरकारी संघ–संस्थाका प्रतिनिधि, पत्रकार लगायतको संयुक्त प्रयासमा डेंगु रोग नियन्त्रणका लागि संयुक्त पहल थाल्ने बताउनुभयो ।
त्यसैगरी नगरपालिका स्वास्थ्य इकाइ संयोजक बसन्त चापागाईंले डेंगु संक्रमण बढेपछि प्रत्येक स्वास्थ्य चौकी र नगर स्वास्थ्य शाखामार्फत समुदायको तल्लो तहसम्म डेंगुबारे जनचेतना अभियान चलाइएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, महानगरीय प्रहरी बृत्त जगातीका प्रमुख चक्रराज जोशी, नगरपालिकाका सामाजिक शाखा प्रमुख किरण थापा, वडा नं.३ का वडाध्यक्ष कमलनाथ आचार्य लगायतले रोग नियन्त्रणका लागि सचेतना बढाउन सरोकारवाला सबै हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु