मृत सागरको आकृति बनाई विश्व किर्तिमानको प्रयास

 
काठमाडौं । स्टेम फाउन्डेशन नेपाल र वाताबरण विभागको संयुक्त आयोजनामा प्रयोग भईसकेका प्लास्टिकका झोलाबाट मृत सागरको आकृति बनाई विश्व किर्तिमान राख्ने प्रयास सफल भएको छ । विभिन्न संघ संस्था तथा विद्यालयका प्रतिनिधिहरुको उपस्थितीमा ८७ हजार २ सय ३२ थान प्लास्टिकको झोला आकृतिमा बाँधेर सो आकृति बनाइएको हो । 
वातावरणमा प्लास्टिकले पारेको असरलाई साकेतिक रुपमा सिगापुरले ६८ हजार प्लास्टिकले अक्टोपसको आकृति निर्माण गरेर विश्व रेकर्ड बनाएको थियो । विश्व किर्तिमानको लागि पहिला दाखिला भएको रेकर्ड भन्दा १९ हजार २ सय ३२ थान प्लास्टिकका झोला बढी बाँधेर नेपालमा नयाँ कृतिमान रचिएको हो । कार्यक्रममा बोल्दै शहरी विकास मन्त्री मोहम्मद ईस्तिहाक राईले यो कार्यक्रमको सफलतासंगै प्लास्टिकले वातावरणमा परेको असर न्युनीकरणमा नेपाल सरकार जिम्मेवार रहेको बताउनुभयो । 
युवा पुस्ताको यो अभियानलाई समर्थन र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री राईले हजारौ नागरिकको उपस्थितीमा सम्पन्न कार्यक्रमले वातावरणप्रतिको संवेदनशिलता बढ्दै गएको आफुले महसुस गरेको बताउँनु भयो । कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्रविधि प्रमुख डा रविन्द्र ढकालले प्लास्टिकबाट डिजेल बनाउने प्रविधि ल्याएसँगै प्लास्टिकमा न्युनीकरण भएको र  प्लास्टिकको पुनः प्रयोगमा जोड दिन सबैलाई आग्रह गर्नुभयो । 
आयोजकका तर्फबाट बोल्दै स्टेम फाउण्डेशनका अध्यक्ष सर्जन बिसिले पर्यावरण र प्रकृतिमा प्लास्टिकको अनावश्यक र अव्यवस्थित प्रयोगले पारेको नकारात्मक असरबारे विश्वको ध्यानाकर्षण गर्दै नेपालीहरुमा सचेतना ल्याउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा वातावरणविद् प्रा डा.दिनेश भुजु, विश्व वन्य जन्तु कोषका उप निर्देशक राजेन्द्र सुवाल लगायतका वक्ताहरुले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो । 
कार्यक्रममा बागमती सफाई अभियन्ता डा राजु अधिकारी र युवा अभियन्ता केंपी खनाल लगायतले वातावरणप्रति जिम्मेवार बन्न सबैलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा जगदम्बा स्टिल्सले संस्थागत सामाजिक दायित्व बहन गर्दै मृत सागरको आकृति निर्माण गरिदिएको जानकारी दिइएको थियो । कार्यक्रममा विश्व वन्यजन्तु कोषका प्रतिनिधिले वन, वातावरण र पर्यावरणका क्षेत्रमा यससगैँ विभिन्न कार्यक्रममा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । स्टेम फाउण्डेशन नेपालले आवश्यक प्रक्रिया पूरा गरि सो विश्व किर्तिमानीका लागि गिनिज बुक अफ वल्र्ड रेर्कडमा प्रमाण पेश गर्ने जनाएको छ । 



प्रतिक्रियाहरु