मध्यपुर थिमिमा ऐतिहासिक महाकाली नाच सुरु


भक्तपुर । मध्यपुर थिमिस्थित नगदेशमा शनिवारसाँझदेखि महाकाली नाच सुरु भएको छ । गाईजात्राको भोलिपल्ट साँझबाट शुरु हुने महाकाली नाच चार दिनसम्म मनाईन्छ । प्राचिन कालदेखि मनाइदै आएको सो नाच नगदेशका चोक–चोकमा प्रदर्शन गर्ने चलन रहेको छ ।
आर्थिक अभावका कारण ७ वर्षसम्म प्रदर्शनमा ल्याउन नसकेका नाच पछिल्लो पटक स्थानीय तहको निर्वाचन भई जनप्रतिनिधि आएपछि पुनः ०७३ सालमा शुरु भएको थियो । स्थानीय पत्रकार विनोद कोजुका अनुसार, बन्द यो नाच स्थानीय युवाहरुको सक्रियता र नगरपालिकाको आर्थिक सहयोगमा पुनः सञ्चालनमा आएको हो । महाकाली नाच संरक्षण समितिका अनुसार, महाकाली नाच प्रदर्शनका लागि करिब १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।


नाच प्रदर्शनका क्रममा चार दिनसम्म लगातार स्थानीयहरु सहभागी हुने सहभागि सबैलाई भोज खुवाउनु पर्ने चलन रहेकाले पनि खर्च बढी लाग्ने कोजुको भनाई छ । महाकाली नाचमा महाकाली, महालक्ष्मी, कुमारी, सिंह, बेता, भूत भैरव, कवं, ख्याक, माकः (बाँदर), म्ह्यखा र मयुर गरी १७ देवगणको स्वरुपमा नाच सञ्चालन गरिन्छ । महाकाली नाच प्रदर्शनका कारण यस क्षेत्रमा भूत, प्रेत, पिशाच, जल, अग्नि, वायु, भूकम्प, चट्याङ् भय, चोरको भय नहुने जनविश्वास रहेको छ ।
नाचका नर्तकहरुले लगाउने पोशाक, मुकुण्डो र नृत्य गर्ने शैलीले गर्दा यो नाच तन्त्रमा आधारित रहेको स्थानीय संस्कृतिविदको भनाई छ । महाकाली नाचमा विभिन्न २१ वटा ताल रहेको र विभिन्न फरक–फरक समूह फरक–फरक तालमा नचाइने परम्परा रहेको छ । मुख्य भूमिकामा रहेका देवीहरुको एकल नाच पनि प्रदर्शन गरिन्छ । नाचमा ८ वर्षका बालकदेखि ३५ वर्षका युवासमेतको सहभागिता रहने गरेको छ ।
यो नाचको सुरुमा देवदेवीहरुको विशेष पूजा गरिन्छ भने समापनमा पनि विशेष पूजाआजा गरिने चलन छ । त्यस्तै मध्यपुर थिमिकै बालकुमारीमा पनि ऐतिहासिक भैरव नाच प्रदर्शन गरिएको छ भने, बोडेमा नीलवाराही नाचसमेत देखाउने गरिन्छ ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु