मनकारी ओलीको उदाहरणीय शिक्षाप्रेम, जन्मथलोका शैक्षिक संस्थालाई २१ लाख रुपैयाँको छात्रबृत्ति कोष


तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका एक व्यक्तिले एकैपटक २१ लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरिदिएका छन् । आठराई गाउँपालिका–५, छातेढुंगाको गैरीगाउँमा जन्मिएर हाल झापाको राजगढ बस्दै आएका यज्ञप्रसाद ओलीले आफ्नी स्वर्गीय आमाको स्मृतिमा २१ लाख रुपैयाँको ‘गंगामाया डाँगी ओली स्मृति छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका हुन् ।
छातेढुंगास्थित पोखरी माविको शनिबार भएको वार्षिकोत्सव समारोहमा समाजसेवी ओलीले तेह्रथुम बहुमुखी क्याम्पस र गाउँपालिका क्षेत्रका सबै नौ वटा माविमा दुई–दुई लाख रुपैयाँ र छातेढुंगाको होडास्थित सरस्वती माविमा एक लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको घोषणा गरेका हुन् । ग्रामीण क्षेत्रमा रहेका शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीको प्रोत्साहन र शैक्षिक उन्नयनकालागि आफुले जन्मथलोका ११ वटा शैक्षिक संस्थामा एकैसाथ छात्रवृत्ति अक्षयकोष स्थापना गरेको उनले बताए ।
सबै क्याम्पस र विद्यालयमा छुट्टा–छुट्टै कोष खडा भएकाले अब वार्षिक रुपमा क्याम्पस र विद्यालयले उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गर्ने जनाएका छन् । कार्यक्रममा प्रदेश सांसद तेजमान कन्दङवाले समाजसेवी ओलीले जन्मथलोको शैक्षिक उन्नयनमा अक्षयकोष स्थापना गरेर सहयोग पु¥याएकाप्रति धन्यवाद प्रकट गरे । ओलीले छातेढुंगाको पोखरी मावि, इवाको प्रणामी मावि, सक्रान्तिको त्रिमोहन, श्रीकृष्ण र रामसंस्कृत मावि, खाम्लालुङको महेन्द्र मावि, थोक्लुङको भगवती मावि, चुहानडाँडाको शारदा मावि र तेह्रथुम बहुमुखी क्याम्पसलाई अक्षयकोषकालागि दुई–दुई लाख रुपैयाँ प्रदान गरेका छन् ।
यस्तै, सरस्वती आधारभूत विद्यालय होडालाई समेत एक लाख रुपैयाँ प्रदान गरेका पोखरी माविका शिक्षक देवेन्द्र पौडेलले जानकारी दिए । यसैबीच, आठराई गाउँपालिका–५, छातेढुंगास्थित पोखरी माध्यमिक विद्यालयको ६१ औँ वार्षिकोत्सव चार दिनसम्म विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रमहरुसहित शनिबार सम्पन्न भएको छ । वार्षिकोत्सवका अवसरमा भएको गाउँपालिका क्षेत्रका माविस्तरीय फुटबल प्रतियोगितामा छात्रतर्फ रामसंस्कृत मावि खेलपुर विजेता र प्रणामी मावि इवा उपविजेता बनेका छन् । यस्तै, छात्रातर्फ सरस्वती मावि ह्वाकु विजेता र प्रणामी मावि इवा उपविजेता बनेको छ ।
यस्तै, माविस्तरीय वक्तृत्वकला प्रतियोगितातर्फ शाहारा कन्दङवा श्रीकृष्ण मावि डाँडागाउँ प्रथम, कविता लामिछाने प्रणामी मावि इवा द्धितीय, सविन सिटौला पोखरी मावि छातेढुंगा तृतीय र सोनु चम्लागाई भगवती मावि थोक्लुङ सान्त्वाना भएका छन् । खुला कविता प्रतियोगितातर्फ सविन सिटौला पोखरी मावि, रिता कटुवाल त्रिमोहन मावि, सोनु चम्लागाई भगवती मावि र हिमादेवी सापकोटा श्रीकृष्ण मावि क्रमशः प्रथम, द्धितीय, तृतीय र सान्त्वाना भएका छन् ।
आधारभूत तह लोकनृत्यतर्फ पोखरी मावि प्रथम, रन्दल आवि द्धितीय र प्रणामी मावि तृतीय भएका छन् । आधारभूत तह हाजिरीजवाफ प्रतियोगितामा पोखरी मावि प्रथम, प्रणामी मावि द्धितीय र सरस्वती आवि होडा तृतीय भएका छन् । सबै प्रतियोगितामा विजयीहरुलाई पुरस्कार र प्रमाण पत्र वितरण गर्दै बार्षिकोत्सव सम्पन्न भएको प्रधानाध्यापक देवीप्रसाद संग्रौलाले बताए ।

 

 



प्रतिक्रियाहरु