बरिष्ठ पत्रकार भैरव रिसाल सम्मानीत



भक्तपुर । अरनिको माध्यमिक विद्यालय दधिकोटले बरिष्ठ पत्रकार भैरव रिसाललाई सम्मान गरेको छ ।  छात्रबृति कोष स्थापना गरेर गरिब र जेहेन्दार विद्यार्थीलाई अध्ययन गर्ने अवसर दिएको भन्दै विद्यालयले रिसाल र व्यवस्थापन समितिका पूर्व अध्यक्ष जगतबहादुर खड्कालाई सम्मान गरेको हो ।
सूर्यबिनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले कक्षा ११ का विद्यार्थी स्वागत र पुरस्कार वितरण कार्यक्रममा दुबैजनालाई सम्मान गर्नुभएको हो ।  विद्यालयका प्रधानाध्यापक लेखनाथ रिमालका अनुसार, रिसालले शुसिला भैरव छात्रबृति कोषमा तीन लाख र खड्काले सानु–जगत छात्रबृति कोषमा  एक लाख ५० हजार रुपैयाँ राख्नुभएको छ । छात्रबृति कोषको ब्याजले हरेक वर्ष विद्यार्थीले छात्रबृति पाउँदै आएका छन् ।
विद्यालयका सहायक प्राचार्य दिपक चपाईंका अनुसार, यसपाली  सुशिला भैरब छात्रबृति १० जनालाई र सानु जगत छात्रबृति ४ जनालाई प्रदान गरिएको छ । विद्यालयले कक्षा ११ र १२ मा नियमित कक्षामा आउने, हाजिरि जवाफ प्रतियोगिता, वक्तित्वकलामा उत्कृष्ठ विद्यार्थीलाई पनि पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले अरनिको माध्यमिक विद्यालय नगरकै उत्कृष्ठ शिक्षा दिन सफल भएको बताउनु भयो ।
कार्यक्रममा व्यवस्थापन समितिका पूर्व अध्यक्ष प्रेमबहादुर खड्का र सम्मानीत व्यक्तित्व भैरव रिसालले यो विद्यालयमा स्नातक तहको पढाउने व्यवस्था गर्न नगरपालिका र विद्यालयलाई आग्रह गर्नुभयो ।  विद्यालयले उच्च शिक्षा अध्ययन गराउन धरौटी बापतको आठ लाख रुपैयाँ रकम समेत जुटाइसकेको छ । त्रिभुवन विश्वविद्यायलले सम्बन्धनमा कडाई गरेपछि प्रक्रिया रोकिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा बोल्दै सूर्य बिनायक नगरपालिकाका शिक्षा समिति संयोजक किरण थापाले नगरको सामुदायिक विद्यालयलाई नीजि विद्यालयसंग प्रतिष्पर्धी बनाउन लागि परेको बताउँदै पछिल्लो समय निजी विद्यालय छाडेर सरकारीमा आउने क्रम बढेको बताउँनु भयो । सामुदायिक विद्यालय अब्बल हुदै गएको त्यो गतिलो उदाहरण भएको उल्लेखगर्दै थापाले सार्वजिनक शिक्षा सुधार नभई नगरको विकास नहुने बताउँनु भयो । गुणस्तर सुधारका लागि विद्यालयमा लगानी गर्न नगरपालिका तयार रहेकोे थापाको भनाई थियो ।



प्रतिक्रियाहरु