विकृत बन्दै गाईजात्रा, अश्लील गीतको ओइरो

भक्तपुर । गाईजात्रा पर्वमा ‘घिनिताङ्ग घिनिताङ्ग घिन्ताङघिसी त्वाङ्ग’ भनेर सांस्कृतिक गीत गाएर भक्तपुरमा नाचिने प्रसिद्ध घिन्ताङघिसी नाचमा चरम विकृति भित्रिएको छ । प्राचीन नाचको रुपमा लिइने आकर्षक यो नाचलाई युवा पुस्ताले अश्लील शब्दको रुपमा परिणत गरेर गाउन थालेपछि संस्कृतिमा छाएको विकृति देखेर स्थानीय बासिन्दा तथा संस्कृतिकर्मीसमेत चिन्तित बनेका छन् ।
आज भक्तपुरमा मनाइएको परम्परागत गाईजात्रामा युगौँदेखि चल्दै आएको गीर्त घिनिताङ्ग घिनिताङ्ग घिन्ताङघिसी त्वाङ्ग’ लाई बिगारेर अश्लिल शब्दहरुसमेत राखेर युवायुवतीले लाठी नाच नाचेपछि संस्कृतिकर्मीहरु समेत चिन्तामा परेका हुन् । परम्परागत संस्कृतिलाई जोगाउने जिम्मेवारी बोकेको युवापुस्ताले नै परम्परागत गीतलाई बिगारी अश्लील गीत बनाएर गाउन थालेपछि परम्परागत संस्कृतिमाथि युवा पुस्ताले प्रहार गरेको संस्कृतिकर्मी ओम धौभडेल बताउनुहुन्छ ।
संस्कृतकर्मी धौभडेल भक्तपुरका बालकदेखि वृद्धसम्म र पुरुषदेखि महिलासम्मले नाच्दै आएका प्रसिद्ध गीतलाई बिगारेर अश्लील बनाइएकाले परम्परा लोप हुने र पछिल्लो पुस्ताले संस्कृतिको गलत अर्थमा बुझ्न सक्ने भएकाले युवा पुस्ताले यस्ता विकृतिलाई हटाउनुपर्ने बताउनुभयो । जात्रामा संस्कृतिको नाममा विकृति भित्रिएको पुराना पुस्ताले बताएका छन् । भक्तपुरका ८७ वर्षीय आशालाल चिंकबञ्जारले जात्रामा घिन्ताङघिसी गीतलाई बिगारेर अपशब्द र अश्लील शब्दसमेत प्रयोग भएकामा दुःख लागेको बताउनुभयो । संस्कृति युवा पुस्ताबाटै बिगँ्रदै छ, युवा पुस्ताले नजोगाए संस्कृतिको अवस्था कस्तो होला उहांले चिन्ता व्यक्त गर्नुभयो । 
जात्रामा युवतीहरूले प्रयोग गरेका आधुनिक एवं छोटा पहिरनले पनि जात्राको महत्व खस्काएको संस्कृतिकर्मीहरु बताउँछन् । संस्कृतिको नाममा विकृति भित्रिन थालेपछि जात्राको वास्तविक रूप जोगाउन जरूरी रहेको उनीहरु बताउंछन् । नाच नाचिरहेका कतिपय युवाले हातहातमा मदिराका बोतल लिएर आपसमा खाँदै खुवाउँदै अझ रहुसिएका देखिन्थे । हातमा मदिराका बोतल लिएर घिन्ताङघिसी नाचसँगै नाचेर थप विकृति भित्र्याएको भन्दै पर्यटन विकास समितिका अध्यक्ष दिवानचन्द्र धौभडेल चिन्ता व्यक्त गर्नुहुन्छ ।
बांसुरी बाजा, घिन्ताङघिसी नाच, बाँसमा कपडाले बेरेर बनाइएको तामचा, माटो र पित्तलको गाईसमेत देखाई बजार परिक्रमा गरी सेलाउने परम्परा रहेको छ ।  गाईजात्रामा बैण्ड बाजासमेत बजाएर विकृति भित्र्याएको छ । बैण्ड बाजा यो जात्रामा बजाउने परम्परा छैन, तर केही वर्षयता यस्ता बाजाले ठूलै ठाउँ ओगट्न थालेपछि संस्कृति लोप हुने अवस्थामा पुगेको उनीहरु बताउँछन् । केही वर्षयता घिन्ताङघिसी नाचमा विदेशी पर्यटकको पनि बाक्लै सहभागिता हुन थालेको छ । पर्यटन प्रवद्र्धन गर्न स्थानीय युवा क्लबले सञ्चालन गरेको नाचमा विभिन्न देशका पर्यटकले हातहातमा लौरो लिएर घिन्ताङघिसी नाच नाचेका थिए । 
यसले जात्राको रौनक बढाउनुका साथै पर्यटनको विकास र पर्यटकलाई संस्कृतिको जानकारी दिन टेवा पुगेको पर्यटन विकास समिति भक्तपरका अध्यक्ष धौभडेलले बताउनुभयो । केही वर्षअघिसम्म महिलाले नाच्न नहुने परम्परा रहे पनि अहिले भने व्यापक रूपमा युवती तथा किशोरीले घिन्ताङघिसी नाच नाचेका छन् । यसवर्ष नाचमा बालबालिकाको पनि उल्लेख्य सहभागिता रहेको थियो । जात्राको आकर्षणको रूपमा रहेको घिन्ताङघिसी नाचसँगै हनुमान नाच र माक प्याखः अर्थात बाँदर नाचसमेत टोलटोलमा प्रदर्शन गरिएको छ । यसका साथै लाखे नाच, भैरव नाचलगायत देवीदेवताका नाचसमेत प्रदर्शन गरिएको छ । 
आर्थिक अवस्था कमजोर हुनेले पनि कुमार–कुमारी बनाएर घुमाउने तथा जीउँदो गाई मात्रै भए पनि घुमाउने परम्परा रहेको छ । विभिन्न घरबाट निकालिएको जात्रा दरबार भक्तपुर क्षेत्र, बालाखु गणेश, चोछेँ, भोलाछेँ, महालक्ष्मी, नागपोखरी, क्वाठडौँ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, वंशगोपाल, इताछेँ, खौमाको परिक्रमा गराउने गर्दछन् । जात्रा समापनको क्रममा तौमढीबाट साँझ परालबाट बनेको तामचा र त्यससँगै भैरव नाचसमेत निकालिएको थियो । तौमढीस्थित भैरव मन्दिरबाट निकालिएको तामचा, यसपछि सोही टोलभित्रभरिबाट निकालिएको अन्य तामचा र सबैभन्दा पछि नकिंजु अजिमाको तामचा निकाली वंशगोपाल हुँदै विभिन्न ठाउँमा परिक्रमा गरी दरवार क्षेत्र चोकमा तीनपटक परिक्रमा गरेपछि आजको जात्रा समापन भएको छ ।
 यसपछि परालबाट बनेको भैरव र अजिमाको तामचा निस्किएपछि अन्य तामचा निकाल्न नहुने परम्परा रहेको छ । जात्रामा विभिन्न कार्टुन तथा व्यङ्ग्य चित्रसमेत हातहातमा बोकेर प्रदर्शन गरिएको थियो । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको गाईजात्रा कृष्ण जन्माष्टमीको दिन तलेजुको जात्रा गरी समापन गरिन्छ । भोलिदेखिको जात्रामा भने अपराह्नपछि विभिन्न व्यङ्ग्य चित्र, कार्टुन र घिन्ताङघिसीलगायतका नाचहरू प्रदर्शन गर्ने परम्परा छ । 
यस्तो छ, भक्तपुरको मौलिक गाईजात्रा
‘तःहामचा गना तय्, ग्वाखँ प्वालय् तय्
ग्वाखँ प्वालय् म्हन्ह्सा, खुँसी च्वयका छ्वय्
विनिसी तिनिसी टङ, घिन्ताङघिसी टङ’ ( तःहामचा कहाँ राखूँ, खोपामा राखूँ, खोपामा नअटे खोलामा लगेर राखूँ, विनिसी तिनिसी टङ, घिन्ताङघिसी टङ ) आकर्षक लयमा उल्लेखित भाकासहित एक आपसमा लठ्ठी जुधाउँदै नाच्ने घिन्ताङघिसी नाच प्रदर्शन तथा हास्यव्यङ्ग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गरिने गाईजात्रा पर्व भक्तपुरमा आइतबार साँझदेखि शुरु भएको छ ।
वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको पर्व गाईजात्राको पूर्व सन्ध्यामा जनैपूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्ययेश्वरीको पूजा गरी निकालेको घिन्ताङघिसी नाचका टोलीले नगर परिक्रमा गरेसँगै भक्तपुरमा गाईजात्रा शुरु भएको मानिने उक्त संस्थानले जनाएको छ । यहां गाईजात्रा जनैपूर्णिमाको साँझ शुरु भए पनि सर्वसाधरणले मुख्यरुपमा आज मात्र गाईजात्रा निकाल्ने गर्छन् । गाईजात्रा निकाल्नुअघि आजै बिहान सबेरै दरबारस्क्वायरस्थित तलेजु भवानीको गाईजात्रा निकाल्ने परम्परा छ । 
आज बिहान कुखुरा नबास्दै तलेजुको गाईजात्रा निकालिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी बताउनुुहन्छ । नेवार समुदायले विशेष पर्वका रुपमा मनाउने गाईजात्रालाई नेपाल भाषामा ‘सापारु’ भनिन्छ । विधिवत् रुपमा गाईलाई नगर परिक्रममा गराएमा मृतात्मा सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वासका साथ यो पर्व मनाउंदै आइएको हो । भक्तपुरको गाईजात्रालाई अन्य स्थानको गाईजात्रा भन्दा भिन्न र विशेष खालको जात्राको रुपमा लिइन्छ । भक्तपुरमा यो पर्व श्रावण शुक्ल पूर्णिमाको दिनदेखि आठ रात नौ दिनसम्म मनाइने गरिन्छ । 
गाईजात्राको मुख्य दिन वर्ष्दिन भित्र मरेका आफ्ना परिवारका सदस्यको आत्माले मोक्ष प्राप्त गरुन भन्ने उद्देश्यले तःहामचा (बांसको चारखुट्टे रथलाई कपडाले बेरेर मृत व्यक्तिको तस्बीर र टुप्पामा परालबाट गाईको प्रतिक चित्र राखिएको हुन्छ) लाई काँधमा बोकेर नगर परिक्रमा गराइन्छ । तःहामचासंगै धाँ बाजा, ताःबाजा र धिमाय् बाजाको संयुक्त तालमा नाच्ने घिन्ताङघिसीको  नाचले जात्राको रौनक बढाउंछ । जात्राको मुख्य आकर्षण नै यही नाच हो । नेवारी समुदायमा काजकिरीया गर्न नपर्ने उमेर नपुगेका मृतक बालबालिकाको हकमा डोकोमा गाईको प्रतिक चित्र र परालको सिङ बनाएर नगर परिक्रमा गराइन्छ भने उमेर पुगेका व्यक्तिको हकमा तःहामचा बनाई नगर परिक्रम गर्ने प्रचलन छ ।
 तःहामचासहित नगर परिक्रमा गर्नुअघि घरको मूलढोका अगाडि पुरोहितले किरीयापुत्रीलाई  पूजा सङ्कल्प र  विधिबमोजिम पूजा गर्न लगाई मृतात्मा  सजिलै स्वर्गलोक पुग्न सकुन भन्ने कामना गर्न लगाउंछन् । कसैकसैले मृतकको स्मृतिमा ‘रामायण’को करुणरस प्रधान गीतिलीला समेत प्रदर्शन गर्ने गर्छन् भने कसैले कालो माटाको साँढे बनाई शुङ्गारपटारका साथ खटमा राखी केटाकेटीलाई आकर्षक तवरले महादेव पार्वतीको वेशमा सिँगारी बाजागाजाका साथ ‘बासा लुइँके’ गरेर प्रदर्शन गर्दछन् । राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किम्बदन्ती भए पनि नेवार समुदाय बाहेकले गाईजात्रा गर्ने प्रचलन रहेको पाईदैन । मल्लकालमा नेपाल मण्डल विशेषगरी काठमाडौ उपत्यकामा नेवार समुदायको मात्र बसोवास भएको स्थान भएकाले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वको रुपमा विकास भएको इतिहासविद् एवं संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ ।
 उक्त समुदायमा पनि भक्तपुरको गाईजात्रा भिन्न र विशेषखालको हुनुमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर हुनु प्रमुख कारण भएको उहाँको भनाइ छ  । किंबदन्तीअनुसार राजा प्रताप मल्लको छोराको मृत्युपछि रानी धेरै शोकमा डुबेपछि उनलाई नगरका जनताका घरमा पनि कसै न कसैको मृत्यु भएको हुन्छ, भन्ने देखाउनका लागि गाईजात्रा निकाल्ने प्रचलन शुरु गरिएको र यतिले पनि रानीको मन शान्त नभएकाले गाईजात्रामा हास्यव्यङ्ग्य, ख्यालठट्टासमेत प्रदर्शन गर्न राजाले आदेश दिए बमोजिम गाईजात्राको अवसरमा हास्यव्यङ्ग्य प्रदर्शन गर्न थालिएको हो भन्ने भनाइ छ । 
प्रा डा श्रेष्ठ भने राजा जयस्थिति मल्ल भन्दा पहिल्यै गाईजात्रा मनाउँदै आइएको बताउनुहुन्छ । राजा जयस्थिति मल्लले सम्पादन गरेको गोपालवंशालीमा ‘साँःयात’ भन्ने उल्लेख भएको र  लिच्छविकालको अभिलेखमा पनि ‘गौ युद्ध’ उत्सव भनी लेखिएको पाइएकाले लिच्छविकालमा पनि गाईजात्रा मनाइएको भन्न सकिने  र विक्रमको १४ आँै शताब्दी भन्दा अगाडि लिच्छविकालको अन्त्यतिर गाईजात्रा पर्व शुरु भएको मान्नसकिने आधार भएको उहांको भनाइ  छ । भक्तपुरमा मनाइने गाईजात्राको मुख्य आकर्षण घिन्ताङघिसी नाच जयस्थिती मल्ले चलाएका हुन् भन्नेमा प्रा डा श्रेष्ठ जोड दिनुहुन्छ । गाईजात्रालाई हास्यव्यङ्ग्यको पर्वको रुपमा पनि लिइन्छ । 
गाईजात्राको दिनदेखि आठ दिनसम्म राज्यको बेथिति, राजनीतिक तथा सामाजिक विकृति विरुद्ध हास्यव्यङ्ग्यको माध्यमबाट विरोध जनाउने परम्परा रहिआएको छ । तत्कालीन राणा शासन र पञ्चायती शासन व्यवस्था विरुद्ध साहित्यकार तथा कलाकारहरले यो पर्वमा  व्याङ्ग्य गर्ने पर्वको रुपमा पनि लिने गरेका र यो परम्परा अहिले पनि कायम छ ।



प्रतिक्रियाहरु