आयल निगमको घाटा बढ्यो

काठमाडौँ । पछिल्लो समय नेपाल आयल निगमको घाटा बढेर गएको छ ।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बृद्धी भएसंगै निगमको मासिक घाटा ह्वात्तै बढेको हो । गत महिना निगमको मासिक घाटा १४ करोड ४२ लाख रहेको थियो । इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त पछिल्लो मूल्यसूचीअनुसार निगमको मासिक घाटा ६४ करोड पुग्ने भएको छ । निगमका कामु प्रबन्ध निर्देशक सुशील भट्टराईक अनुसार, सेप्टेम्बर १ मा आइओसीबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ मूल्यअनुसार समग्रमा निगमलाई १५ दिनमा ३१ करोड ५९ लाख घाटा हुने देखिन्छ । अमेरिकी डलरसँग नेपाली मुद्राको लगातारको अवमूल्यनले पनि निगमको घाटा चुलिएको भट्टराईको भनाई छ । अमेरिकी डलरको सटही दरमा एक रुपैयाँ बढ्दा पनि निगमलाई मासिक १५ करोड थप भार पर्ने निगमका अधिकारीहरु बताउँछन् । 
पछिल्ला केही यता विश्व वजारमा कच्चा तेलको मूल्यमा करीब १० प्रतिशतले वृद्धि भएको छ । पछिल्लो मुल्य अनुसार, कच्च तेलको मूल्य ७७ अमेरिकी डलर प्रति ब्यारेल छ । पछिल्ला दिनमा सवारीको संख्यामा बृद्धीसंगै पेट्रोलियम पदार्थको खपत बढेका कारण आयात बढ्न गएको निगमको भनाई छ । गत आवमा पेट्रोलियम पदार्थको खपत करीब २० प्रतिशतले बढेसँगै निगमको घाटा पनि बढेको हो । आव २०७३÷०७४ मा चार लाख दुई हजार २७८ किलोलिटर पेट्रोल खपत भएकामा गत आव २०७४÷०७५ मा चार लाख ८४ हजार  ७८१ किलोलिटर पेट्रोल खपत भएको छ । त्यस्तै अघिल्लो आवमा १२ लाख ९७ हजार ६६ किलोलिटर डिजेल खपत भएकामा गत आवमा खपत बढेर १५ लाख ९७ हजार ५५१ किलोलिटर पुगेको छ । त्यसैगरी अघिल्लो आवमा हवाई इन्धनको खपत एक लाख ६४ हजार २९९ किलोलिटर भएकामा गत आवमा एक लाख ९४ हजार ३५८ किलोलिटर खपत भएको छ । त्यस्तै अघिल्लो आवमा तीन लाख १२ हजार ९२८ मेट्रिकटन एलपी ग्यास खपत भएकोमा गत आवमा खपत बढेर तीन लाख ७० हजार ५६० मेट्रिकटन पुगेको छ ।



प्रतिक्रियाहरु