नेपाल आयल निगम ५० वर्षमा, कुनै पनि हालतमा पेट्रोलियम पद्धार्थ निजी क्षेत्रलाई दिइदैन ः मन्त्री भट्ट



काठमाडौं । नेपाल आयल निगम शनिवारदेखि ५० वर्षमा प्रवेश गरेको छ । पेट्रोलियम कारोबारमा बहुराष्ट्रिय कम्पनीको बर्चस्व रोक्न २०२७ साल पुस २६ गते स्थापना गरिएको निगमले ४९ औ वर्ष पार गरेको हो । तत्कालिन समयमा नेपाल सरकार, नेशनल ट्रेडिङ लिमिटेड, नेपाल बैङ्क लिमिटेड र राष्ट्रिय बीमा संस्थानको शेयर लगानीमा निगमको स्थापना गरिएको थियो । २०२७ सालमा स्थापना भएपनि पेट्रोलियम कारोबारमा संलग्न विदेशी कम्पनीलाई बन्द गराएर २०३० भदौदेखि निगमले मुलुकभर पेट्रोलियम पदार्थको कारोबारमा एकाधिकार पाएको थियो । सोही समयदेखि निगमले पेट्रोलियम कारोबारमा एकछत्र काम गर्दै आएको छ ।
निगमको स्वर्णजयन्तीको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कुनै पनि हालतमा पेट्रोलियम आयात निजी क्षेत्रलाई दिन नसकिने बताए । पेट्रोलिमय पदार्थको कारोबार राष्ट्रिय सुरक्षासँग जोडिएको उल्लेखगर्दै मन्त्री भट्टले अहिलेकै अवस्थामा निगमलाई निजीकरण गर्ने विषय सोच्न नसकिने उल्लेख गरे ।


पेट्रोलियम पदार्थको बिकल्पका रुपमा विद्युतीय शक्तिलाई लिइएको भन्दै मन्त्री भट्टले निगमलाई अन्य क्षेत्रमा लगानी बढाउँन सुझाए । निगमले अब जलविद्युत् र अन्य उर्जाका क्षेत्रमा समेत लगानी गर्नुपर्नेमा मन्त्री भट्टको जोड थियो ।
निगम सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य सचिव डा बैकुण्ठ अर्यालले निगमलाई सफल बनाउन सामूहिक भावनाका साथ अघि बढ्नुको विकल्प नभएको उल्लेखगर्दै इमान्दारितापूर्वक निगम सुधारको बाटोमा काम गर्न आग्रह गरे । आर्थिक वर्ष २०७५÷०७६ मा २५ लाख सात हजार १४४ किलोलिटर पेट्रोलिमय पदार्थ तथा चार लाख २९ हजार ६०९ मेट्रिक टन एलपी ग्यास आपूर्ति गरेको  निगमले जनाएको छ । निगम ५० वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा निगमका कार्यकारी निर्देशक पौडेलले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना निर्माण सम्पन्न भइसकेको र अब देशका विभिन्न भागसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने कार्यनीति अगाडि बढेको बताए ।
पछिल्लो समय निगमले भण्डारण क्षमता अभिवृद्धिको कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको उल्लेखगर्दै पौडेलले सरकारको नीतिअनुसार कम्तिमा ९० दिनको माग धान्न सक्ने गरी पेट्रोलियम पदार्थको भण्डारण क्षमता बिस्तार गर्न निगम अघि बढेको बताए । हाल निगमसँग ७० हजार किलोलिटर भण्डारण क्षमता रहेको छ । निगमसँग पर्याप्त मात्रामा भण्डारण क्षमता नहुँदा पेट्रोलियम आयातमा असहज अवस्था पैदा हुँदा मुलुकभर पेट्रोलियम पदार्थको अभाव हुने गरेको छ । पौडेलका अनुसार, चालु आवमा थप ३५ हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माणसम्बन्धी ठेक्का सम्झौता गर्ने तयारी भइरहेको छ ।


तीमध्ये पोखरामा १० हजार किलोलिटर क्षमताको डिजेल र भैरहवा विमानस्थलमा ३५० किलोलिटर क्षमताको हवाई इन्धन भण्डारण निर्माणको लागि टेण्डर भइसकेको छ । यस्तै अमलेखगन्जमा ८ हजार किलोलिटर क्षमताको पेट्रोलका साथै पोखरा विमानस्थलमा ३ हजार किलोलिटरको हवाई इन्धन भण्डारण गृह निर्माणको काम अघि बढेको पौडेलको भनाई छ ।
निगमले आव २०७५÷०७६ मा विभिन्न शीर्षकमा गरी करिब ६५ अर्ब ६० करोड रुपैयाँ सरकारी कोषमा राजस्व दाखिला गरेको जनाएको छ । त्यस्तै बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि हालसम्म ३४ अर्ब ३६ करोड रुपैयाँ योगदान गरिसकेको निगमले जनाएको छ । सरकारले डिजल र पेट्रोलमा भन्सारबिन्दुमै सो आयोजना निर्माणका लागि भन्दै प्रतिलिटर ५ पूर्वाधार कर उठाउँदै आएको छ ।
कार्यक्रममा नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले पछिल्लो समय निगमको कामकारबाहीप्रति जनतामा विश्वास बढ्दै गएको उल्लेख गर्दै प्रणालीलाई विश्वसनीय बनाउन सुझाव दिए । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष खगेश्वर बोहराले व्यवसायीले चर्को लागत व्यहोर्दै ‘ट्याङ्कर लकिङ प्रणाली’मा निगमलाई सहयोग गरेको बताए ।


बोनसका लागि चार करोड, थप एक महिनाको तलव पुरस्कार
नेपाल आयल निगमले कर्मचारीलाई बोनस खुवाउन नाफाको १ प्रतिशतले हुने ४ करोड रुपिया छुट्याइएको छ । त्यसका अलवा निगमले थप एक महिनाको तलब पुरस्कारसमेत दिने घोषणा गरेको । निगम हातामा शनिबार अपरान्ह आयोजित ५०औँ वार्षिकोत्सव कार्यक्रममा निगमका अध्यक्ष समेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सो घोषणा गरेका हुन् ।
३५ अर्ब सञ्चित नोक्सानीमा रहेको निगम केही वर्षयता सो घाटा पूर्ति गरी नाफामा जान गएको हो । निगम निरन्तर नाफामा गएपछि कर्मचारीलाई बोनस बाँड्ने निर्णय गरिएको हो । निगमको बिहीबार बसेको बैठकले आर्थिक वर्ष ०७५÷७६ को नाफाबाट एक प्रतिशत रकम बोनसबापत वितरण गर्ने अधिकार व्यवस्थापनलाई दिएको थियो ।  निगमको शनिबार आयोजित ५०औँ वार्षिकोत्सवका अवसरमा कर्मचारीलाई हौसला दिने उदेश्यले थप एक महिनाको तलब पुरस्कारस्वरूप दिने घोषणा गरिएको जनाइएकोे छ ।
 ३५ अर्ब रुपैयाँ घाटा र थप ३६ अर्ब रुपैयाँ ऋण भएको निगम पछिल्ला चार वर्षमा सञ्चित नोक्सानी र ऋण चुक्ता गरेर चार वर्षदेखि निरन्तर नाफामा गएपछि कर्मचारीलाई बोनस र पुरस्कारको व्यवस्था गरिएको निगमको भनाई छ । गत आव ०७५÷७६ मा करकट्टीपछिको खुद नाफा चार अर्ब कमाएको थियो ।
वार्षिक उत्सव कार्यक्रममा बौल्दै निगमका टे«ड युनियनका अध्यक्षहरू देवीप्रसाद न्यौपाने, विकास बखती र गोपालचन्द्र राईले ऐनअनुसार पाउनुपर्ने बोनस सुविधा नपाएको भन्दै गुनसो गरेपछि सचिव अर्यालले ऐन, नियमका प्रक्रिया पु¥याएर बोनस कार्यान्वयन गर्न लागिएको बताए । वार्षिक उत्सवकै अवसरमा निगमले शनिवार बिहान प्रभातफेरीको आयोजना गरेको थियो । सोहि अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजयीहरुलाई परस्कृत गरिएको थियो भने । वर्षभरी उत्कृष्ठ कार्य गर्ने एक दर्जन बढी कर्मचारीलाई नगद पुरस्कार र सम्मान गरिएको थियो ।



 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु