बास्कोटा प्रकरणः नेकपामा अझै पुरानो पार्टीको 'ह्यांग'

काठमाडौं ।  सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि छानविनलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु विभाजीत भएका छन्।  सेक्युरिटी प्रिन्टर खरिद प्रकरणमा मुछिए पछि नैतिकताको आधार देखाएर राजीनामा दिएका
बाँस्कोटाको अडियो प्रकरणमाथि छलफल गर्न बसेको नेकपा सचिवालय बैठकमा शीर्ष नेताहरुको कुरा बाझिएको हो।  प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच निर्वतमान सञ्चारमन्त्री बाँस्कोटामाथि अनुसन्धान गर्ने पक्षमा मतभिन्‍नता आएको हो। बाँस्कोटा प्रकरणको बिषयलाई लिएर शनिबार साँझ बसेको सचिवालयको बैठकमा समेत प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचमा फरक मत आएपछि बैठक अनिर्णित बन्‍न पुग्यो।  प्रधानमन्त्री ओलीको विश्वासपात्रका रुपमा चिनिएका बाँस्कोटामाथि भ्रष्टाचारको आरोप लागेपछि अर्का अध्यक्ष दाहालले पार्टीले पनि छानविन गर्नुपर्ने अडान राखेका थिए।
 
तर, प्रधानमन्त्री ओलीले सिआइबी र अख्तियार दुरुपयोग आयोगले छानविन गरिरहेकाले पार्टीले छानविन गर्नु नपर्ने अडान लिए। यद्यपि, सार्वजनिक कार्यक्रममामार्फत प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल दुवैले पार्टीभित्र गल्ती गर्ने कसैलाई पनि नछोड्ने अभिव्यक्ति दिँदै आएका छन्।  प्रधानमन्त्री ओलीले कम्युनिष्ट सरकारको मुख्य एजेण्डाका रुपमा भ्रष्टाचार नियन्त्रण गर्ने तर्क गरिरहँदा सञ्चारमन्त्रीले कमिसन मागेको अडियो बाहिरिएपछि सडकदेखि सदनसम्म चर्को आलोचना भइरहेको छ। ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचारीको मुख पनि हेर्दिनँ,’ भन्‍ने प्रधानमन्त्री ओलीको अभियानमासमेत घात पुगेको छ।  बाँस्कोटा भ्रष्टाचार प्रकरण मुछिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका साना दलहरुले पनि नेकपा सरकारमाथि नै प्रश्न उठाइरहेका छन्।  सचिवालयमै मतभेद  बाँस्कोटाको कमिसनको अडियो प्रकरणलाई लिएर नेकपाका सचिवालय सदस्यहरुनै फरक धारमा उभिएका छन्। प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि सरकारी निकायबाट अनुसन्धान गरिरहेको हुनाले त्यसलाई पार्टीले हेर्नै नपर्ने तर्क राखेका थिए।  तर, अध्यक्ष दाहालले पार्टीभित्रको गम्भिर बिषय भएकाले पार्टीले पनि अनुसन्धान गर्नुपर्ने धारणा राखेका थिए। सचिवालय सदस्यहरुमा पनि दाहालको पक्षमा वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम तथा सचिवालय सदस्य रामबहादुर थापाले सहमति जनाएको नेकपा स्रोतले बताएको छ।  बाँस्कोटा प्रकरणलाई दलभित्र छानविन गरिरहनु नपर्ने ओलीको भनाईप्रति सचिवालय सदस्य ईश्वर पोखरेल सहमत थिए। तर, महासचिव विष्णु पौडेल भने बाँस्कोटा प्रकरणमा मौन बसेको सचिवालय स्रोतले जनायो। शनिबार बसेको बैठकमा नेकपाको प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ अनुपस्थित थिए। 
 
  बाँस्कोटाको अडियो प्रकरणलाई लिएर तत्कालिन एमाले र माओवादीको तुष कायमै भएको सतहमा देखिन थालेको छ। तत्कालीन माओवादी केन्द्रका अध्यक्ष दाहालले सरकारी निकायबाट छानविन भइरहेको भएपनि पार्टीले पनि छानविन गर्नुपर्ने बताउदै पूर्व एमालेका बाँस्कोटालाई त्यत्तिकै नछोड्ने पक्षमा छन्।  तर, प्रधानमन्त्री ओलीले सरकारी निकायबाट अनुसन्धान भइरहेकाले पार्टीमा यस बिषयलाई प्रवेश नल्याउने पक्षमा देखिएका छन्। प्रधानमन्त्री ओलीले आफू तत्कालीन एमाले निकटका भएकै कारणले बाँस्कोटा प्रकरणलाई पार्टीमा प्रवेश नगराउने पक्षमा देखिएका छन्।  पार्टी एकता भएको दुई बर्ष पुग्नै लाग्दा समेत पार्टीभित्र तत्कालिन एमाले माओवादी भन्नेमा नेताहरुले विभेद गर्न छाडेका छैनन्। फागुन १२ 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु