चैत ३ गतेबाट दादुरा–रुबेला खोप अभियान

 
भक्तपुर । आगामी चैत्र ३ गतेदेखि ११ गतेसम्म दादुरा रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका चार वटै नगरपालिकामा एक साथ दादुरा र रुबेला रोगविरुद्ध खोप दिने अभियान सञ्चालन हुने भएको हो । नौ महिनादेखि पाँच वर्ष मुनिका सबै बालबालिकालाई दादुरा रुबेला खोप लगाउन अभियान सञ्चालनको तयारी रहेको स्वास्थ्य कार्यालयकाका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले बताए । 
 
अभियानको क्रममा ३१ हजार आठ सय ७० जना बालबालिकालाई खोप दिने लक्ष्य लिइएको छ । सन् २०२३ भित्र नेपाललाई दादुरा र रुबेला रोगमुक्त बनाउने सरकारी लक्ष्य छ । बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना र १५ महिनामा गुणस्तरीय दादुरा रुबेला खोप दिनुपर्छ । अभियानका क्रममा दिनुपर्ने खोपको मात्रासमेत पूरा गरेको खण्डमा जीवनभर ती रोगको संक्रमणबाट बच्न सकिन्छ । यसवर्ष खोप अभियानकालागि कार्यालयले जिल्लाभर एक सय ९८ वटा खोप केन्द्र तोकेको छ । 
 
वरिष्ठ जनस्वास्थ्य अधिकृत मिजारका अनुसार इँटाभट्टा क्षेत्र र सुकुम्बासी बस्तीकालागि आवश्यकता हेरी छुट्टै खोप केन्द्र समेत राखिनेछ । अभियानकालागि ७१ जना खोप कार्यकर्ता खटिनेछन्  भने तीन सय ९६ जना खोप स्वयम्सेवक परिचालित हुनेछन् ।
 
‘शतप्रतिशतमै खोपको पहुँच पु¥याउने लक्ष्य हो, एउटै वडामा नौ वटासम्म पनि खाप केन्द्रहरु राखिएका छन्,’ कार्यालयका प्रमुख मिजारले भने । सरकारले बच्चा जन्मिएपछि २४ महिनाभित्र सात वटा खोप निःशुल्क र अनिवार्य गरेको छ । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु