निबर्तमान सञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

 
भक्तपुर । निबर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरको लोकन्थलीस्थित निर्माणाधिन घरमा बम विस्फोट भएको छ । मध्यपुर ठिमी नगरपालिका १ मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा बुधवार बिहान ठूलो आवाजसहित प्रेसरकुकर विस्फोट भएको हो । 
विस्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा रहेको मारुती भ्यान र घरको पर्खाल क्षतिग्रस्त भएको छ । त्यसैगरी छिमेकीका दुई घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । बम विस्फोटबाट बाँस्कोटाका छिमेकीहरु कुबेर केसी र कपिल घिमिरेको घरमा क्षति पुगेको हो । बाँस्कोटाको घर क्षेत्रमा  सँधै प्रहरीले गस्ती गर्ने गरेको थियो ।  तर आज बिहानै प्रहरीको गस्ती नभएको मौका पारेर बम विस्फोट गराइएको स्थानीयले बताएका छन् । 
बम विस्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न नसकेको र प्रहरीले जनाएको छ । विस्फोटका बेला बास्कोटा भने निवासमा हुनुहुन्थेन । बाँस्कोटा मन्त्री भएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बस्दै आउनुभएको छ । बास्कोटाको घरलाई नै लक्षित गरी बम विष्फोट गराइएको प्रहरीले बताए पनि कसले र किन गरायो भन्ने खुलेको छैन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे कमिसन डिल गरेको भनिएको अडियो सार्वजनिक भएपछि बास्कोटाले दुई साताअघि सञ्चार मन्त्रीबाट राजीनामा दिनुभएको थियो ।
 
 
 
 
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु