खरिपाटी र तेलकोट क्वारेन्टाइनलाई निरन्तरता दिइने

 
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित खरिपाटी र तेलकोट क्वारेन्टाइनलाई निरन्तरता दिइने भएको छ । नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रणको लागि बनेको उच्चस्तरीय समन्वय समितिको बैठकले ती क्वारेन्टाइनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई पठाएको पत्रमा क्वारेण्टाईन प्रयोजनको निम्ती प्रयोग भएका खरीपाटीस्थित बिद्युत् प्राधिकरणको भवन र तेलकोटस्थित खानेपानी तालिम केन्द्रको भवनलाई यथायतस्थितिमा राख्न निर्देशन दिएको छ । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछानेले दुबै भवनलाई निकट भबिष्यको संभाब्य प्रयोगलाई बिचार गरी तत्काल यथावत अबस्थामा कायम राख्न आएको बताउनुभयो ।
कोरोना संक्रमणको जोखिम न्युनिकरण पूर्वतयारीका लागि क्वारेन्टाइनलाई निरन्तरता दिन लागिएको जनाइएको छ । खरीपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा २ सय २० र  तेलकोटस्थित खानेपानी कार्यालयमा ६० वटा आइसोलेटेड बेड पु¥याउने सरकारी तयारी रहेको जनाइएको छ । कोरोना संक्रमणको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी ल्याइएका १ सय ७५ जना नेपालीलाई राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रलाई पहिलो पटक क्वारेन्टाइन बनाइएको थियो ।
चीनबाट उद्धार गरिएका सबै नेपालीको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएपछि उनीहरुलाई घर पठाईएको थियो । विद्यार्थीलाई उद्दार गरि ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली लाई भने नगरकोटको खानेपानी तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु १५ औ दिनमा सकुसल नतिजापछि घर फर्किएका थिए ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु