वृद्धाश्रम र जेलमा पहिलो चरणमै कोरोना खोप लगाइने

काडमाडौं । कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिइनेछ । भारत सरकारले हालै मात्र १० लाख डोज कोरोना खोप ‘कोभिसिल्ड’ नेपाललाई अनुदानमा उपलब्ध गराएको छ । त्यही खोप १४ गते बुधबार १० बजे लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नेछन् र सात प्रदेश र काठमाडौं उपत्यकाका ६२ वटा अस्पताल भर्चुअल माध्यमबाट जोडिनेछन् । १८ गतेभित्र ७७ जिल्लाका ३०० भन्दा बढी केन्द्रमा खोप पुग्नेछ र अभियान सुरु भएको १० दिनभित्र पहिलो चरणको खोप अभियान पुरु हुनेछ ।
 
मन्त्री त्रिपाठीका अनुसार पहिलो चरणमा फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलन र चालक, एम्बुलेन्स तथा शव बाहनका चालक सहचालक, प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयंसेवक, शव व्यवस्थापनमा खटिएकाहरु, स्वास्थ्य स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकलाई खोप दिइनेछ । यस्तै वृद्धाश्राममा रहेकाहरु, हेरचाहमा खटिने कर्मचारी तथा जेलमा रहेका कैदी र सुरक्षाकर्मीलाई पनि पहिलो चरणमा खोप दिइनेछ । मन्त्री त्रिपाठीले अघि भने, ‘आगामी दिनमा खोप अभियानमा निरन्तरता रहनेछ । पहिलो चरण सक्नु अगाडि नयाँ खेपको खोप प्राप्त गर्ने विश्वास दिलाउन चाहन्छु ।’  -माघ ११



प्रतिक्रियाहरु