पुल बनाउन निकुञ्जले रोक्यो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले हुलाकी सडकखण्ड अन्तर्गत माडी क्षेत्रका विभिन्न खोलाहरुमा बनिरहेका पुलको निर्माण कार्य रोक्न पत्र पठाएको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी पुल निर्माणको कार्य थालेको भन्दै निकुञ्जले पुलको काम तत्काल रोक्न पत्रमार्फत निर्देशन दिएको हो । निकुञ्जले पत्र पठाएपछि ठेकदार कम्पनीले पुल निर्माणको काम रोकेका छन् । भरतपुर–माडी–ठोरी हुलाकी सडक अन्तर्गत माडीका साना ठूला खोलामा गरी अहिले ११ वटा पुल बनिरहेका छन् । मगुवाई, रिउ, बगइ खोलामा बन्दै गरेका तीनवटा पुलको मात्रै वातावरणीय प्रभाव मूल्यांकन गरिएको छ भने बाँकी ८ वटा पुलको गरिएको छैन ।
 
वातावरणीय प्रभाव मूल्यांकन नगरी पुल निर्माण थालिएकोले आफूहरुले कानुनी आधार खोजेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । उनका अनुसार माडीका अधिकांश पुल वातावरणीय प्रभाव मूल्याङ्कन नगरी बनाएको पाइएकोले कानुनी व्यवस्थाका बारेमा जानकारी माग गरिएको हो । प्रमुख बरालले पटकपटक यसको कानुनी आधार माग गरिए पनि नदिएपछि बाध्य भएर पुलको काम रोक्न भनिएको बताए ।
 
हुलाकी सडक आयोजना वीरगञ्जका योजना प्रमुख दीपन्द्र पाण्डेले सुरुमा काम गर्न दिने अहिले रोक्ने निकुञ्जको काम ठिक नभएको बताए । उनले भने, ‘सुरुमा गर्ने भन्ने थियो, पछि कानुन संसोधन भएर नगरेको भन्ने जानकारी पाएको छु, सरकारी निकायका बीचमा नै समन्वय भएन जस्तो लाग्यो ।’
 
पुलको काम रोकिएपछि त्यस बारेमा सोमबार निकुञ्ज, माडी नगरपालिका र हुलाकी सडक आयोजनाका बीच छलफल कार्यक्रम राखिएको छ । सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीले निकुञ्जको आफ्नो अधिकार क्षेत्रभित्र ईआईए आवश्यक भएको तर चलनचल्तीको सडकमा नभए पनि हुने व्यवस्था रहेको जानकारी दिए । सडक डिभिजन कार्यालयले माडीको रिउदेखि १५ किलोमिटर सडक कालोपत्रे यसअघि नै सम्पन्न गरिसकेको छन् ।
 
निकुञ्जले निर्माण व्यवसायीहरुले माडीका विभिन्न खोलाबाट अवैध रुपमा निर्माण सामग्रीहरुको उत्खनन् गरेको आरोपसमेत लगाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले त्यहाँका खोलाबाट आफूखुसी नदीजन्य पदार्थ निकालिएको तर त्यसको जानकारी एवम् राजश्व निकुञ्जलाई नदिइएको बताए । माडीको खोलाहरुबाट निकालिने निर्माण सामाग्रीको राजश्व निकुञ्जलाई बुझाउनुपर्ने नियम छ ।  -माघ १०



प्रतिक्रियाहरु