'टुँडिखेलमा १० अपराधीलाई झुण्डाएर गोली ठोकेपछि बलात्कार कम हुन्छ'

काठमाडौं । मुलुकमा दिनप्रतिदिन बढ्दै गएका हत्या, हिंसा, बलात्कारविरुद्व नेपाल महिला संघले शान्तिबाटिका रत्नपार्कमा विरोध प्रदर्शन गर्ने भएको छ । संघकी अध्यक्ष उमा रेग्मीले पत्रकार सम्मेलन आयोजना गरी भोलि महिलाविरुद्धको हिंसा र बलात्कारविरुद्ध विरोध प्रदर्शन गर्ने जानकारी दिएकी हुन् । देशमा कम्युनिष्ट सरकारले असंवैधानिक तथा अलोकतान्त्रिक कदम चालेको भन्दै त्यसका विरुद्ध पनि प्रदर्शन केन्द्रित हुने बताइन् । उनले शनिबार दिउँसा १ बजे विरोध सभा समेत हुने जानकारी दिइन् ।
 
संघकी अध्यक्ष रेग्मीले नेपालमा बलात्कार घटना बढ्दै जानुमा सरकार जिम्मेवार भएको आरोप लगाइन् । सरकारले महिलालाई सुरक्षा दिन नसकेको भन्दै कडा आन्दोलनको चेतावनी दिइन् । उनले महिलाविरुद्धको हिंसा बढ्नुले आफूहरु गम्भीर भएको बताइन् । ‘जो पशु छ, जो राक्षस छ त्यसले मात्र बलात्कार गर्छ,’ अध्यक्ष रेग्मीले भनिन्, ‘बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्छ ।’
 
टुँडिखेलमा १० अपराधीलाई झुण्डाएर गोली ठोकेको दिनमात्र अपराधीलाई डरत्रास हुने र समस्या न्यनिकरण हुने बताइन् । रेग्मीले विद्यालयमा नैतिक शिक्षा र यौन शिक्षा अनिवार्य रुपमा दिन पर्ने आवश्यकता औल्याइन् ।उनले सरकारको आलोचना गर्दै भनिन्, ‘बलात्कार बढी हुने देश भनेर चिनिन नपरोस ।’ नेपालकै अस्तित्व जोगाउनको निमित्त सबैजना लाग्न जरुरी रहेको बताइन् । निर्मला पन्तको हत्यारा ३ वर्ष बितिसक्दा पनि पत्ता लगाउन सरकारले नसकेको र सम्झना कामीको हत्यादेखि हालै बैतडीको भागिरथी भट्टसम्म हत्याको घटनाले गम्भीर बनाएको बताइन् । महिलाको सुरक्षाको विषय सरकारको प्राथमिकतामा नपरेको उनको आरोप थियो । -फागुन ७



प्रतिक्रियाहरु