१७ दिनपछि भागरथीको अन्त्येष्टि

बैतडी ।  बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भयो । तीनै भागरथीको आज अन्त्येष्टि गरिएको छ । मृत भेटिएको १७ औं दिन शुक्रबार शव बुझेका आफन्तले दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा भट्टका अन्येष्टि गरिएको भागरथीका काका शिवराज भट्टले जानकारी दिनुभयो । गत माघ २२ गते विभत्स र निर्वस्त्र अवस्थामा मृत भेट्टिएपछि अपराधीको पत्ता लगाउनुपर्ने माग राख्दै भागरथीका आफन्शव बुझ्न अस्वीकार गरेका थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चडेपानीकै दिनेश भट्टलाई सार्वजनिक गरे पनि शव बुझ्न अस्वीकार गरेका आफन्तले बिहीबार दिनेशका बुवासमेत राखेर सरकारी वकिलको कार्यालयमा गरिएको बयानमा बलात्कार पछि हत्या गरेको स्वीकार गरेपछि शव बुझेका थिए ।
 
भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या भएको उल्लेख छ । सार्वजनिक गरेको दिनसम्म दिनेशले आफूले भागरथीको हत्या मात्रै गरेको बताउँदै आएका थिए । बुधबार नै भागरथीका दाई शंकर भट्टले दिनेशकाविरुद्ध कर्तव्य ज्यान र बलात्कार सम्बन्धी कसुरमा कारबाहीका लागि जाहेरी दर्ता गरेकाले जिल्ला अदालतबाट म्याद थप गरि ५ दिन अनुसन्धानका लागि अनुमति दिइसकेको छ ।
 
शव बुझ्नुअघि पीडित परिवारले प्रहरी अधिकृतलाई भेटेर अभियुक्त भनिएका दिनेशले बयान फेरिरहेकाले निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेका थिए । भागरथी र दिनेश एकै गाउँ चडेपानीका हुन् । नाताले दुवैजना दिदीभाइ पर्छन् । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा भागरथी कक्षा १२ र दिनेश कक्षा ११ मा पढ्थे ।
गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् । -फागुन ७



प्रतिक्रियाहरु