नेपाल मजदुर किसान पार्टीको सातौ महाधिवेशन शुरु, विदेशमुखी अर्थतन्त्रकै कारण देशको सबै क्षेत्र बिग्रिएको हो– बिजुक्छे


भक्तपुर । नेपाल मजदुर किसान पार्टीको सातौ महाधिवेशन शुक्रबार भक्तपुरको सल्लाघारी शुरु भएको छ । पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले एक भव्य समारोहका बीच महाधिवेशनको उद्घाटन गर्नुभयो । काठमाडौको कोटेश्वर र भक्तपुरको च्याम्हासिंह दुईतिरबाट आएको विशाल जुलुस सल्लाघारीको खुलास्थानमा पुगेपछि महाधिवेशन उद्घाटन समारोहमा परिणत भएको थियो ।
    विभिन्न सांस्कृतिक बाजागाजासहित मौलिक भेषभूषामा सहभागी हजारौ सर्वसाधारण महाधिवेशनमा सहभागी बनेका थिए । राता झन्डासहितका सहभागीहरूका करिव दुई घण्टा सडक अवरुद्ध जस्तै बनेको थियो । महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधनगर्दै अध्यक्ष बिजुक्छेले विदेशमुखी अर्थतन्त्रकै कारण देशको सबै क्षेत्रले दुर्दान्त परिस्थिति सामना गरिरहेको बताउनुभयो । शिक्षामा देखिएको स्तरहीनता र असमानता, स्वास्थ्य सेवामा देखिएको अराजकता, अर्कमन्यता र जिम्मेवारीहीनता, डाक्टरी पढ्न लाखौ लगानी आदि सबै विश्व व्यापार सङ्गठन (डब्लुटीओ) को सदस्य भएपछि हुने परिणामबारे नसोच्दा देखिएको स्थिति भएको बिजुक्छेको भनाई थियो ।


विदेशी बैड्ढहरूको छेलोखेलोले नेपालको अर्थतन्त्र विदेशीको हातमा पुगेको बताउँदै बिजुक्छेले प्रशासन, प्रहरी, गुप्तचर विभाग र सेनामा समेत विदेशी छाया परेको बताउनुभयो । अध्यक्ष रोहितले भन्नुभयो, “विदेशीले फैलाएको चाणक्य नीतिमा नेपाल फस्दैछ र यसमा नेपाली काङ्ग्रेस, एमाले र एमाओवादीका प्रधानमन्त्रीहरू तथा मधेसवादी, राप्रपा तथा अन्य जाति र धर्मका राजनैतिक दलका नेता र मन्त्रीहरू सबै जिम्मेवार छन् ।” आफ्नै देशमा जनतालाई दुःख हुने नाकाबन्दीको समर्थन गर्ने र चर्काउने विभिषणहरू देशभक्त हुन् वा देशद्रोही हुन् भनी प्रश्न गर्दै बिजुक्छेले नेपाली जनताको अहितमा र विदेशीको हितमा हस्ताक्षर गर्ने सबै प्रधानमन्त्री तथा मन्त्रीहरू देशमा यो परिस्थिति ल्याउँन जिम्मेवार रहेको आरोप लगाउँनु भयो ।
७० लाख युवाहरू विदेश पठाउने नीति ल्याउने सरकार लाखौ लाख विदेशी ज्वाइ र भान्जा–भान्जी परिवारलाई नागरिकता दिन लगाउने नीतिमा हस्ताक्षर गर्ने राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू, विदेशको हात माथि हुने गरी टनकपुर, माथिल्लो कर्णाली र अन्य जलविद्युत् योजनाहरूमा हस्ताक्षर गर्ने प्रधानमन्त्री र मन्त्रीहरू देशभक्त हुन सकन्ने बिजुक्छेको भनाई थियो । समसामयिक राजनीतिबारे चर्चा गर्दै बिजुक्छेले देशमा अहिले मगन्ते कूटनीति भएको र एउटा सार्वभौम देशको कूटनीति मगन्ते कूटनीति हुन नसक्ने बताउनुभयो । अब नेपाललाई दिने विदेशी सहयोगसमेत भारतमार्फत आउने सङ्केत आएको उललेखगर्दै बिजुक्छेले नेपाल विदेशी सहयोगको नाममा अमेरिका र भारतको जालमा फस्दै गएको आरोप लगाउँनु भयो ।
    काङ्ग्रेसको सिद्धान्तहीनताको कारण पार्टी कार्यकर्ता र ठेकेदार सदस्यहरू गुन्डा र भ्रष्टले प्रतिद्वन्द्वीहरूलाई नै निर्वाचनमा पैसा र सिद्धान्तहीन समर्थन गरी देशको राजनैतिक अराजकता फैलाएको आरोप बिजुक्छेको थियो । एमाले र माओवादी पार्टीहरू निर्वाचनमा बहुमत ल्याएर नेकालाई ठेगान लगाउने र आफ्नो अस्तित्व जोगाउन सिद्धान्तहीन राजनीतिमा हाम फालेको आरोप लगाउँदै बिजुक्छेले आफूहरूसंग पटककै नमिल्ने क्षेत्रवादी र अवसरवादीहरूसंग पनि मिलेर निर्वाचनलाई प्रयोग गरी सरकारमा जाने उद्देश्य राख्नु आफै माक्र्सवाद नभई संशोनवाद र अवसरवाद भएको बिजुक्छेको भनाई थियो ।
    कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेपालको नागरिकता समस्या समाधान गर्न नेपाल–भारत खुला सिमाना बन्द गर्नुपर्ने बताउनुभयो । नेपाललाई बलीको बोको बनाउन खोजिएको हुनाले नेमकिपाले इन्डो प्यासिफिक सैन्य गठबन्धनको विरोध गरेको सुवालको भनाई थियो । नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारले आगामी ५ वर्षपछि देशको सबै क्षेत्रमा निजी क्षेत्रको लगानी ५५ प्रतिशत पु¥याउने लक्ष्य लिएकोप्रति विरोध गर्दै निजीकरणलाई जोड दिनेहरू कम्युनिस्ट हुनै नसक्ने बताउनुभयो । सङ्घीयताको अर्थ अधिकारको विकेन्द्रीकरण भएपनि स्वायत्तता र विकेन्द्रीकरणलाई राम्रोसंग कार्यान्वयन गरिएमा नेपालमा सङ्घीयताको आवश्यकता नभएको प्रजापतिले बताउँनु भयो ।
    समारोहमा नेमकिपाका केन्द्रीय सदस्यहरू डिल्लीप्रसाद काफ्ले, नन्दबहादुर शाही, जग्यबहादुर शाही, बजिरसिंह विक, अनुराधा थापामगर, वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश नं ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई र सृजना सैंजू, वैकल्पिक केन्द्रीय सदस्य सरोजकुमार साह, नेपाल क्रान्तिकारी शिक्षक सङ्घका गुप्तबहादुर शाही, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सविन ख्याजूलगायतका वक्ताहरूले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा काभ्रेको वालाम्हेन्दो सांस्कृतिक समूहको तामाङ गीत, कालीकोटको हुड्के नाच, नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घको गीत प्रस्तुत गरिएको थियो । महाधिवेशनको शनिबार र आइतबार हुने बन्द बैठकले पार्टीको भावी नेतृत्व समेत चयन गर्ने बताइएको छ ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु