सभामुखको निर्वाचन माघ १२ गते, नेकपाबाट सापकोटा, उपसभामुख पाए कांग्रेसले समर्थन गर्ने


काठमाडौं । प्रतिनिधिसभामा रिक्त सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुने भएको छ । संसद सचिवालयका अनुसार, सभामुखको निर्वाचन माघ १२ गते गर्नेबारे दलहरुबीच सहमति भएको हो । संसदका जेष्ठ सदस्य महन्थ ठाकुर अध्यक्षतामा सोमवार बसेको संसद बैठकले माघ १२ गते निर्वाचन गर्ने सहमति गरेको हो ।
संसद सचिवालयकी कर्मचारीमाथि यौन दुव्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १४ गते राजीनामा दिएपछि  सभामुख पद रिक्त छ । रिक्त सभामुखमा सत्तारुढ दल नेकपाले पूर्वमन्त्री अग्निप्रसाद सापकोटालाई अघि सारेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपसभामुख पाए सभमुखमा सापकोटालाई समर्थन गर्ने र नपाए संसदीय दलकी सचेतक पुष्पा भुसाललाई सभामुखको उम्मेद्वार बनाउने स्रोतले जनाएको छ ।
संविधानमा सभामुख र उपसभामुख एकै दलबाट हुन नपाउने प्रावधान रहे अनुसार नै नेकपाबाटै उपसभामुख बनेकी शिवमाया तुम्बाहाङफेले सोमबारको संसद बैठकमा राजीनामा पत्र पढेर पदबाट राजीनामा दिएकी थिइन् । सत्तारुढ दलका एक नेताका अनुसार, आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश २ मा नेकपाले राष्ट्रिय जनता पार्टी (राजपा) सँग तालमेल गरेकोले उपसभामुख राजपाले पाउने सम्भावना बढी छ ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु