आज तीन जना मन्त्री नियुक्त हुन सक्ने

काठमाडौं । नेकपा सचिवालय बैठकले आज दिउँसो बस्ने तीन मन्त्रालयमा मन्त्री नियुक्तिको बाटो खुला गर्ने तयारी गरेको छ । रिक्त मन्त्रालय तत्काल पूर्ति गर्ने र दशैंपछि मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारेमा अध्यक्षद्धय पुष्पकमल दाहाल (प्रचण्ड) र केपी शर्मा ओलीबीच सोमबार भएको भेटमा अनौपचारिक सहमति भएको थियो ।
 
सचिवालयमा आज सहमति जुटे पनि आजै मन्त्री नियुक्त हुने सम्भावना भने कम छ ।  नेकपाका एक सचिवालय सदस्यका अनुसार आजको सचिवालय बैठकको एजेण्डा भने जानकारी गराइएको छैन । ती सदस्यका अनुसार एजेण्डा नपठाए पनि रिक्त मन्त्रालयमा मन्त्री थप्नेसहितका विषयमा छलफल हुनेछ ।
 
नेकपा स्रोतका अनुसार तीनमध्ये दुई मन्त्रालय पूर्वएमालेको भागमा पर्ने सम्भावना छ । त्यसमा अर्थ र सञ्चार ओलीले पूर्वएमाले र सहकारी विकास मन्त्रालय पूर्वमाओवादीको भागमा पार्ने गरी दुई अध्यक्षबीच छलफल भएको छ । 
युवराज खतिवडाले राजीनमा दिएपछि अर्थ मन्त्रालय रिक्त छ । जसमा नेकपाभित्र महासचिव विष्णु पौडेल, सुरेन्द्र पाण्डेको दाबी छ । वामदेव गौतमको पनि अर्थ मन्त्रालयमा नै दाबी रहे पनि उनको मुद्दा अदालतबाट टुंगो लागिसकेको छैन । त्यसैले अहिले पौडेल र पाण्डे दाबेदारमा देखिए पनि दुवै अध्यक्ष अहिले पौडेलतिर ढल्केका छन् ।
 
यता, सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट गोकुल बास्कोटाले राजीनामा दिएपछि पहिले अर्थमन्त्री युवराज खतिवडा र उनी हटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै जिम्मेवारी सम्हालिरहेका छन् । त्यसैगरी, सहरी विकास मन्त्रालय अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले सम्हालेका छन् भने रामवीर मानन्धर राज्यमन्त्री छन् ।  
असोज २० 



प्रतिक्रियाहरु