तीजसंगै कामकाजी महिलालाई सचेतना


गठ्ठाघर । संगिनी समन्वय महिला समाज गठ्ठाघरले तीजको अवसर पारेर कामकाजी महिलालाई चेतना अभिवृद्धिकालागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा डकपेटीमा पसिना पोखेर दैनिकी गुजार्ने महिलाको सहभागिता रहेको थियो । समाजकी अध्यक्ष सर्मिला कोइरालाले सडकमा मकै पोल्ने, नांलो पसल डुलाउने र दिउँसोभर सडकपेटीमा श्रम गरेर दैनिकी चलाउने महिलाको दैनिकी सुधार गर्न स्थानीय सरकारले सोच बनाउनुपर्ने बताइन् ।
 ‘नगरपालिकाले सडकमा व्यवसाय गर्न दिदैन, देख्यो कि नगरप्रहरीले उठाएर लैजान्छन्,’ उनले भनिन्, ‘सडकमै व्यवसाय गर्नुपर्ने महिलाको बाध्यता पनि बुझिदिनुप¥यो ।’ हरितालिका तीजको अवसरमा आयोजित कार्यक्रममा गठ्ठाघर, कौशलटार र ठिमी क्षेत्रका सडकपेटी र फुटपाथमा स–सानो पसल र नाङलो व्यवसाय गर्ने महिलाहरु र संगिनी समाजका सदस्यहरु सहभागी थिए ।


कार्यक्रमलाई सम्बोधनगर्दै मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फुटपाथमा हुने व्यवसायले सुन्दर नगर निर्माणका लागि अवरोध पु¥याउने भएकाले हटाउनु परेको बताए । ‘हामीले सबैलाई आग्रह गर्छौ, फुटपाथमा व्यापार नगरिदिनुस्, बरु त्यस्तो व्यवसायका लागि निश्चित ठाउँमा टहरा नै बनाएर व्यवस्थित गर्न हामी पहल गर्छौ,’ श्रेष्ठले भने ।
महानगरीय प्रहरी वृत्त ठिमीका डिएसपी शान्तिराज कोइरालाले सबै महिलाको अधिकार सुनिश्चित गर्न प्रहरी सधै तयार रहेको बताए । उनले प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत सर्वसाधारणका समस्या, समाधान र सुरक्षा प्रदान गर्न अभियान चलाएको भन्दै प्रहरीलाई सहयोग गर्न समेत आग्रह गरे । कार्यक्रमका सहभागिले जीवनस्तर सुधार गर्न सरकारले पहल गरिदिनुपर्ने माग गरेका थिए ।
 



प्रतिक्रियाहरु