माथिल्लो कर्णालीको ५०० मेगावाट बिजुली बंगलादेशले किन्ने


काठमाण्डौ । बंगलादेशले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादन हुने ५०० मेगावाट बिजुली किन्ने भएको छ । भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) ले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत्मध्ये ५०० मेगावाट विद्युत् खरिद गर्ने निर्णय बंगलादेश सरकारले गरेको हो ।
जीएमआरका निर्माण परियोजनाका अनुसार बंगलादेश सरकारले जीएमआरको विद्युत् भारतीय विद्युत् व्यापार कम्पनी एनभीभीएनमार्फत खरीद गर्नेछ । बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिद समितिले विद्युत् खरिद गर्ने निर्णयलाई स्वीकृत गरेको हो । निर्णयअनुसार बंगलादेशले प्रतियुनिट ७.७ सेन्ट(नेपाली रुपैयाँ ८)मा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्नेछ । निर्णयपछि बंगलादेशले २५ वर्षसम्म विद्युत् खरिद गर्नेछ ।
 निर्णयसँगै भारतीय प्रसारण प्रणालीको प्रयोग गरेर नेपालमा उत्पादित विद्युत् बंगलादेश पुग्ने निश्चित भएको छ । स्वतन्त्र ऊर्जा, उत्पादकको संस्था नेपाल (इपान)ले गत महिना आयोजना गरेको पावर समिटमा भाग लिन आएका बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले माथिल्लो कर्णालीको विद्युत् खरिदसम्बन्धी निर्णय छिट्टै हुने बताएका थिए । उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसँगको भेटमा नेपालमा उत्पादित विद्युत् बंगलादेश लैजान आतुर रहेको बताएका थिए । बंगलादेशले सन् २०४० सम्म नेपालबाट करिब ९ हजार मेगावाट विद्युत् लैजाने विषयलाई रणनीतिक महत्वका साथ अघि बढाएको छ ।
दुई महिनाअघि नेपाल भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले समेत ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा बताएका थिए । बंगलादेशको सो निर्णयसँगै जिएमआरले अब लगानी बोर्डसँग पनि समन्वय गरी आयोजनाको काम शुरु गर्ने वातावरण तय भएको छ । जिएमआरले आयोजनाको म्याद थपका लागि २०७५ असोजमा दिएको आवेदनको विषयमा बोर्डले निर्णय गरेको छैन । आयोजनाबाट उत्पादित कूल ९०० मेगावाट विद्युत्मध्ये ५०० मेगावाट बंगलादेश बिक्री हुनेछ भने नेपाल सरकारले १०८ मेगावाट विद्युत् निःशुल्क प्राप्त गर्नेछ । यस्तै बाँकी रहेको विद्युत् भने् भारतमा बिक्री गर्ने योजना छ । कूल एक खर्ब ४० अर्ब  रुपैयाँ लागत अनुमान गरिएको आयोजनाले सुर्खेत, अछाम र दैलेखलाई प्रभावित गर्दछ ।


 



प्रतिक्रियाहरु