माफियाको गुलियोमा सरकार भुलिए कै हो त ?

काठमाडौं । सरकारले एक वर्षअघि गरेको भुक्तानीसम्बन्धी सम्झौता कार्यान्वयन नगरेको भन्दै उखु किसान आन्दोलनमा उत्रिएका छन् । तराईका केही जिल्लाका उखु किसानले पाँच वर्षदेखि चिनी मिलहरूले उखु खरिद गरेर भुक्तानी नगरेको भन्दै सिंहदरबार अघि आन्दोलनमा सुरु गरेका छन् । गत वर्षको १६ पुसमा भएको सम्झौताअनुसार चिनी मिल सञ्चालकबाट सरकारले बक्यौता रकम नउठाइदिएको भन्दै उखु किसानले आन्दोलनमा उत्रिएका हुन् । गत वर्षको पुसमा काठमाडौंमा आन्दोलन गरेका सर्लाही र नवलपरासीका किसान फेरि एक वर्षपछि आन्दोलन गर्न काठमाडौंमा छन् । सरकारले उखु किसानको भुक्तानी गर्न गत वर्ष सम्झौता गरे पनि चिनी मिलहरूलाई ताकेता नगरेको संघर्ष समितिका अध्यक्ष तथा जनता समाजवादी पार्टीका नेता राकेश मिश्रले बताए ।
 
सरकारले कृषकका समस्यालाई उधारोमा सम्झौता गरेर गत वर्ष झुकायो । मिल सञ्चालकले उखु किसानलाई पैसा भुक्तानी गर्न नमाने पनि सरकारले चासो नदेखाएको समितिका अध्यक्ष मिश्रको आरोप छ । ‘गत वर्ष १८ माघभित्र सबै उखु किसानलाई बाँकी रकम भुक्तानी गर्ने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र आन्दोलनरत किसानबीच सम्झौता भएको थियो । तर, सम्झौता भएको एक वर्षसम्म भुक्तानी नपाएपछि आन्दोलनमा उत्रिन बाध्य भएका हौँ,’ उनले भने, ‘सरकारले हरेक पटक उखु किसानसँग झुटो सम्झौता गरेर माग सम्बोधन गर्ने सम्झौता गर्ने, कार्यदल वा समिति बनाउने र प्रतिवेदन तयार पार्ने गरेका छन् । तर, उखु कृषकको समस्या जस्ताको तस्तै छ ।’ 



प्रतिक्रियाहरु