भारतमा हिमपहिरोले १८ जनाको मृत्यु

ऋषिकेश– भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन् । आइतबारको हिमपहिरोका कारण तीब्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ ।
 
स्थानीयबासी ओम अग्रवालले तीब्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए । उत्तराखण्ड सरकारले सोमबारसम्म १८ जनाको शव निकालिएको जनाएको छ । मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कम्तीमा २०० मानिस हराइरहेको बताए । बेपत्ता भएका सबैजसो व्यक्तिहरु विद्युतगृहमा कार्यरत मजदूर रहेका थिए । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाइ छ । “यो घटना साँझपख भएको थियो भने त्यति ठूलो मानवीय क्षति हुने थिएन । घटना हुँदा मजदुर र श्रमिकहरु काममा थिए,” मुख्यमन्त्री रावतले भने ।
 
आइतबार एउटा सुरुङबाट १२ जनालाई उद्धार गरिएको थियो तर २५–३५ जना दोस्रो सुरुङभित्र थुनिएको जानकारी प्राप्त भएको राज्य विपद् राहत अधिकारी पियूष राउटेलाले बताए । उनले भने, “झण्डै सुरुङभित्र करिब ८० मिटर सफा गरिएको छ । अझै १०० मिटर सफा गर्नुपर्ने अवस्था छ ।” धेरै जना उद्धारकर्मीहरु सोमबार बिहानैदेखि खटिएका छन् । राष्ट्रिय र राज्य उद्धार टोलीहरु, सेना र प्रहरीका टोलीहरु घटनास्थलमा खटिएका छन् । -माघ २६



प्रतिक्रियाहरु