शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरी बन्द गर्न सिफारिस गर्ने भएको छ । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले शहरी र कोरोनाबाट अति प्रभावित क्षेत्रका विद्यालय वैशाख महिनाभरी बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै बैठकले ग्रामीण एवं अन्य क्षेत्रको हकमा भने प्रदेश र स्थानीय तहलाई जिम्मा दिने निर्णय गरेको सीसीएमसीका सचिव खगराज बरालले जानकारी दिनुभयो । सिसिएसीले गरेको सिफारिसलाई मन्त्रिपरिषद्ले पारित गरेपछि मात्र कार्यान्वयनमा आउने छ ।पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले बारम्बार विद्यालय बन्द गर्न सरकारलाई अनुरोध गरेको थियो । विद्यालय बन्द भए पनि पठनपाठन भने पूर्णरुपमा बन्द नगरी अनलाइन माध्यमबाट पढाउनु पर्नेछ । परीक्षाहरू पनि सुचारु हुनुपर्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको प्रस्ताव छ । स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुरसहित १५ शहरका विद्यालय बन्द गर्नुपर्ने सुझाएको थियो । मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ ।  -बैशाख ४



प्रतिक्रियाहरु